‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफको शंकास्पद कारोबार

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय मूलका सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो ।

सराफ नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीको नाममा दर्ता गर्ने, नेपाली स्रोतमाथि अनियमित दोहन गर्ने र गैरकानूनी ढंगले सरकारको शेयर हत्याउने भनेर परिचित छन् ।

मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बर भन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले सराफ तथा उनको परिवारले अफशोर कारोबार गरी शंकास्पद कारोबार गरेको खुलासा गरेको छ ।

उनी ब्रिटिश भर्जिन आइल्याण्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ । सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गरेका छन् । यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बीमा वा पुनर्बीमा कम्पनी सम्बन्धी व्यापार गर्ने, म्युचुअल फन्ड सम्बन्धी व्यवसाय गर्ने लगायत काम गर्ने गरी दर्ता भएको देखिन्छ । यो कम्पनी खोल्न ट्राइडेन्ट ट्रष्टले सहयोग गरेको छ ।

राधेश्याम, उनका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रष्ट नामक कम्पनी खोलेको पाइएको छ । यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन् ।

उनका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रष्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन् ।

द डेभिटा ट्रष्ट र द भरुनिसा ट्रष्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको फेला परेको छ ।

सिआईजी नेपाल डट ओराजी डट एनपी बाट सभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्