९५ लाखसहित २ जना भारतीय नागढुंगाबाट पक्राउ

 

काठमाडाैँ  – चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शुक्रबार स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे छन् ।

मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसएसपी सिंहले जानकारी दिए ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ । पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको सिंहले बताए ।

प्रहरीले ९ महिनायता काठमाडौंबाट साढै चार करोड बढी रकमसहित १७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्