नेकपा एकीकृत समाजवादीले आज महासचिवको टुङ्गो लगाउँदै, यी हुन् सम्भावित नेताहरु

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै छ ।

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको एक नेताले बताए ।

महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले जनाएको छ । महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेललगायतले दाबी गरेका छन् । यीमध्ये पनि भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको एक नेताले बताए ।

पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो । आज बैठक सक्ने योजना छ । केन्द्रीय कमिटीको संख्या अनुसार पोलिटव्युरो र स्थायी कमिटी सदस्यहरु टुंगो लगाइने छ । केन्द्रीय कमिटीको एक तिहाइ पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ स्थायी कमिटी सदस्य हुने छन् ।

हाल स्थायी कमिटीमा अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित मुकुन्द न्यौपाने, डा. वेदुराम भुसाल र प्रमेश हमाल छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्