सुदूरपश्चिमको इन्चार्जमा रावलको सट्टा लेखराज भट्टलाई नै निरन्तरता दिन ओलीको प्रस्ताव

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै दिने प्रस्ताव अघि सारेका छन् ।

आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले तत्कालिन इन्चार्ज भीम रावललाई उपाध्यक्षको हैसियतमा पार्टीको अन्य कामको जिम्मेवारी दिने भन्दै भट्टलाई नै इन्चार्जको रुपमा काम गर्न दिने प्रस्ताव अघि सारेका हुन् ।

रावललाई उपाध्यक्षको हैसियतमै र भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा जिम्मेवारी दिने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले रावललाई उपाध्यक्षको हैसियतमा अरू पनि धेरै कामहरू हुने भएकाले सुदूरपश्चिमको जिम्मेवारीमा भट्टलाई नै दिने प्रस्ताव अघि सारेका हुन् ।

ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको भन्दैं आफू निकट नेतासँग छलफलमा जुटेका छन्। सबै ठाउँमा जेठ २ कार्यान्वयन भए पनि सुदूरपश्चिममा मात्रै किन नहुनेभन्दै उनले आफू निकट नेतासँग आइतबार संसद भवनमा समेत छलफल गरेका थिए ।

छलफल पछि पत्रकारसँग रावलले कुरा गर्न चाहेनन्। उनी अझै छलफलमै रहेकाले के गर्ने भन्ने निष्कर्षमा नपुगेको उनी निकट नेताले बताएका छन् ।

पुस ५ अघि रावल नै सुदूरपश्चिमका इन्चार्ज थिए। सर्वोच्चको फैसलापछि माओवादी र एमाले छुट्टा छुट्टै दल भएपछि एमालेमा लागेका भट्टलाई नै फागुन २३ गते ओलीले सुदूरपश्चिमको इन्चार्ज तोकेका थिए ।

एमाले विवाद समाधान गर्न र विभाजन टार्न असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो ।

नेपालले उक्त सहमति नमान्ने बताएपछि कार्यदलका सबै सदस्यहरू एमालेमै रहेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्