काठमाडौँको पेप्सीकोलामा डूबान, मनोहरा खोलामा पानीको वहाव उच्च (भिडियो सहित)

काठमाडौं – गएराति परेको अविरल वर्षाका कारण काठमाडौंमै बाढी आएको छ । बाढीले पेप्सीकोलाका विभिन्न ठाउँ डुबानमा परेका छन् । पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुल डुबानमा परेको छ भने नागेश्वर मन्दिर परिसर पनि डुबानमा परेको छ । सनराइज चोकका केही पसलहरु भित्र पानी पसेको छ । मनोहरा खोलामा समेत उच्च बाढी आएको छ । खोला किनारका बस्तिहरुलाई प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । मनोहरा खोलामा आएको बाढीले केही स्थानमा कटान समेत गरेको छ । यस्तै काठमाडौँका विभिन्न ठाउँ डुबानमा परेको प्रहरीले जनाएको छ ।

बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ । केन्द्रले भनेको छ, ‘उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाऔं ।’

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्