गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न

काठमाडौं – गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।
बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भएको छ । यस्तै काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा पनि ठुलो बाढी आएको छ । कटान समेत सुरु गरेको मनोहरा खोला आसपासका बस्ती जोखिममा परेका छन् ।
यस्तै, काठमाण्डौको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । प्रहरीका अनुुसार डुबानमा फसेका एक व्यक्तिको उद्धार गरिएको छ । त्यसैगरी, रामकोट, बाफल सीतापाइला, मुलपानी लगायत क्षेत्रमा पनि डुबानले बस्ती जोखिममा परेको छ ।

सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्