CORONA

‘बाल्यकालको लालटिन’

विवेक पन्त

शुक्लाफाँटा, कञ्चनपुर

बेलुकाको ८ बजे घर पुगे घरमा वरिपरि सबै तिर बल्ब बलिसकेका थिए,घर पुरै उज्यालो थियो, हाम्रो मात्र होइन जताततै छिमेक झकमक्क बल्बका उज्यालो हरु देखिन्थ्यी। बाइक राखेर हातखुट्टा धोएर कोठामा गए ट्क्क बटन थिचे झिलिक्क बल्ब बल्यो कोठा उज्यालो भयो, एक्लो कोठा भित्र एक्लो म अँध्यारो मन अनि उज्यालो कोठाका भित्ताहरु। सबै आफ्ना आफ्ना कोठामा थिए, कोहि मोबाइल चलाउदै थिए, कोहि टिकटक हेर्दै थिए, कोहि टिभी हेर्दैथिए त कोहि युटुब। म पनि यहि आधुनिक भनिएको जङ्गली युगमा प्रबेश गरिसकेको थिए। मैले पनि मोबाइल को स्विच अन गरे अनि स्कृन मा बुढी औला ले सुमसुमाउदै स्कृन चलाउन थाले । के चलाउ के चलाउ सोच्दैमा केही समय खेर भयो केही चलाउने मन लागेन अनि मोबाइल तेहि राखेर मैले पढिरहेको एउटा पुस्तक समाते, पुस्तक थियो जगदिश घिमिरे ले लेख्नु भएको अति सुन्दर, सरल भाषामा लेखिएको पुस्तकूअन्तरमनको यात्राू । यो पुस्तक पढ्दैथिए तेहा जगदिश घिमिरेले आफ्ना बाल्यपनका कुरा अति सुन्दर रुपले प्रस्तुत गरेका थिए, आफ्ना बाल्यपनका याद लाइ, आफ्नो जन्मभुमी लाई साहित्यिक कलमले छायाङ्कन गरेर आफ्ना मिठा शब्द हरुको सुन्दर चलचित्र झै छ्रलङ्ग हुने गरि कथा व्यक्त गरेका थिए ।

उन्का शब्द पढ्दा पढ्दै म आफ्नै बिगतमा फर्किएको थाहै भएन, जगदिश घिमिरे ले रचेको पुस्तकको पाना पल्टाउदा म आफ्नै बिगतका पाना पल्टाउन पुगेछु अनि झलझल्ती मेरा बिगतका पुस्तकमा नलेखिएका शब्द हरु दिमागमै भए पनि पल्टाउन थालेको रहेछु। एक बटन थिच्ने बितिकै बलेको बल्बको उज्यालो अँध्यारो लाग्न थाल्यो अनि त्यो बाल्यकालमा लालटिन र टुक्की बालेको सम्झिए, सम्झिए लालटिनमा मट्टितेल भरेको, लालटिनको बाता मिलाएको। लालटिन बल्दा सानो उज्यालो आएको अनि त्यो उज्यालो ले गर्दा घरका सबै जाना मुहारमा ठूलो उज्यालो झल्केको।

म लालटिन बालेको अनि त्यो उज्यालो मा हाम्रो मन-मुहार उज्यालो भएको मात्र सम्झिन्न, म लालटिन बाल्ने बितिकै हजुरआमाले हात जोड्दै नमस्कार गर्दै शिर झुकाएको सम्झन्छु, अनि हामिलाइ पनि हात जोड्न लगाउदै एउटा मन्त्र भन्न लगाएको सम्झन्छु “शुभम् भवत कल्याणम् आरोग्य धनसमप्दा, ममशत्रु बिनाशाय् दिप ज्योती नमस्तुते:” । अनि सबै जना तेहि लालटिनको वरिपरि गरेर गफ गरेको सम्झन्छु हामिले दिदी(भाइ तेहि लालटिनको वरिपरि बसेर स्कुलको गृहकार्य गरेको सम्झन्छु, अनि किराहरु वरिपरि घुमेको सम्झन्छु, अनि माइकल ले भुक्दै खुरुरु आगन भरी डुल्दै फेरि हाम्रो वरिपरि घुमेको सम्झन्छु, बर्खामा जुनकुरीले लालटिनको उज्यालो भन्दा बाहिर पनि मन भुल्याउन छर्केको तिरिमिरी उज्यालो सम्झन्छु। अनि ठुलोबुवाका राजनितिक गफ सम्झन्छु,हजुरआमाले सुनाउनु भएका अनेकै किस्साहरु सम्झन्छु, हजुरआमाले हामिलाइ हौसला दिन उहाका दाइ नेपालका शिक्षाबिद त्री बी का संस्थापक तथा पुर्ब उपकुलपती तथा कुटनितीज्ञ डा त्रीलोक्यनाथ उप्रेतीको बारेमा गरेका कुरा सम्झन्छु। मैले उहाको आत्मबृतान्त ‘बिगतका पाना’ पढेर धेरथोक उहालाइ बुझ्ने मौका पाए ।
पहिले लालटिनको उज्यालो अहिलेको जस्तो उज्यालो थिएन तर त्यो सानो उज्यालो ले पनि परिवारलाइ एकठाउमा जोडेको थियो, ठुलाले सानालाइ आफ्ना अनुभव र सङ्स्कार सिकाउने बाटो बनेको थियो। अहिलेका बच्चा हरुलाइ त्यो सामान्य लालाटिन होला तर त्यो लालटिन सङ्ग हामी र हामी भन्दा पुराना पुस्ताको याद जोडिएको छ, सङ्स्कार जोडिएको छ, आफ्ना अग्रजले दिएको अर्ती जोडिएको छ, बुवा(आमाले सिकाएको व्यवहार जोडिएको छ। अहिले टक्क बटन दवाएर बल्ब बाल्दै, एक्लै बसेर परिवारको वास्तौ नगरी मोबाइल चार्जमा राख्दै चलाउनेले सायद त्यो बुझ्दैनन होला लालटिनमा आँखा तिखार्दै पढेको त्यो उमेरका विद्यार्थीको कथा। अहिले एकछिन लोडसेडिङ हुदा पनि ठुलो गुनासो गर्ने पुस्ताले सायद बुझ्दैनन होला त्यो कुरा, हामी त्यो पुस्ताका हौ जहा मट्टितेल सिद्दिएर लालटिन निभ्दा गुनासो होइन कृतज्ञता का साथ निभ्दै गरेको बत्तीलाइ हात जोड्दै बिदा गर्थेउ र यहि गर्न हामिलाइ सिकाइएको पनि थियो। म त्यो लालटिन लाई नमन गर्दछु जस्ले मेरो बाल्यकालका अँध्यारो रातमा मलाइ उज्यालो दिएको थियो र मेरो उज्यालो को साथी बनेको थियो, अहिले पनि जब लालटिन सम्झन्छु मन उज्यालो हुन्छ म बिगतका पाना पल्टाउदै तेहि लालटिन अगाडि पुग्दछु, हजुरआमाले टाउको सुमसुमाएको सम्झन्छु, ठुलबुवाले राजनितिका कुरा गरेको सम्झनछु, दिदिहरु सङ्ग झगडा गरेको सम्झन्छु, मम्मी सङ्ग जिद्दी गरेको सम्झन्छु। आमा (ठुलमम्मी) लाई सताएको सम्झन्छु। तेहि लालटिनको उज्यालो मा एकले अर्को लाई जिस्काउदै आएको हाम्रो मुहारको हासो सम्झन्छु, सानो दिदिको तोतेबोली सम्झन्छु अनि हामिले उस्लाइ गिज्याएको सम्झन्छु अनि फेरि मनाउदै हामी ३ दिदी-भाइको अङ्गालो सम्झन्छु, हामी दिदी-भाइले खेलेको, रमाएको अनि हल्ल गरेको सम्झन्छु, अनि बुवाले कति हल्ला गर्छौ , एक छिन चुप लागेर समाचार सुन्न दिन्नन भनेर रिसाएको सम्झन्छु।

समग्रमा म मेरो बिगत सम्झन्छु, त्यो लालटिन सम्झन्छु।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्