काठमाडाैँ – मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा आगामी चैत १ गतेदेखि ३ गतेसम्म हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन हुने भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै सम्मिलनबारे जानकारी दिईएको हो ।
प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाका अनुसार हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने, बहुभाषिक एवम् बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२८१’ आयोजना गर्न लागिएको हो ।
यस सांस्कृतिक सम्मिलनबाट हिमवत्खण्डका परम्परागत ज्ञान तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भावी पुस्तालाई यस भू-खण्डका परम्परागत मूल्य-मान्यताको महत्व बोध गराई यसप्रति आकर्षित गराइने छ । सम्मिलनमा हिमवत्खण्डमा बसोबास गर्ने विविध जातजातिका परम्परागत मौलिक संस्कृति, सांस्कृतिक झाँकी, वाद्यवादन, गीत सङ्गीत, शिल्पकला, ललितकला, वेशभूषा, गरगहना, खानपान आदिको प्रदर्शनी गरिने छ ।
सम्मिलनमा नेपालका सातओटै प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रदर्शनी पनि गरिने छ र ती सांस्कृतिक सम्पदाका बारेमा गोष्ठी-पत्रको प्रस्तुतिसहित प्राज्ञिक विमर्श गरिने छ । यस सम्मिलनमा भारतका नेपाली भाषी क्षेत्र सिक्किम, दार्जिलिङ, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चलको देहरादुन, उत्तर प्रदेशको बनारस, लखनउका साथै अन्य देश म्यानमार, भुटान, बङ्गलादेश, थाइल्यान्ड, चीनको तिब्बतमा बसोबास गर्ने नेपाली भाषी लेखक-साहित्यकार, संस्कृतिविद्, सांस्कृतिक अभियन्ता तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहने छ ।
सम्मिलनको पहिलो दिन चैत १ गते राष्ट्रिय सभा गृहमा समुद्घाटन समारोह (विभिन्न सांस्कृतिक झाँकीसहित) प्रमुख अतिथि पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, विशिष्ट अतिथि, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, विशिष्ट अतिथि सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङ, विशेष अतिथि बैरागी काइँलाज्यू (पूर्वकुलपति, नेपाल प्रज्ञा-प्रतिष्ठान वरिष्ठ कवि तथा मुन्धुमविद्) लगायत सहभागी हुनुहुनेछ । साथै पहिलो दिन नेपाल पर्यटन बोर्डमा चलचित्र विकास बोर्डको सौजन्यमा हिमवत्खण्डका नेपाली संस्कृति झल्किने चलचित्रहरूको प्रदर्शन हुने छन् ।
दोस्रो दिन चैत्र २ गते राष्ट्रिय सभा गृहमा प्राज्ञिक विमर्श / गोष्ठी सत्र सञ्चालन हुनेछ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री पाण्डेज्यू, सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङज्यू, बैरागी काइँला आदिको विशिष्ट आतिथ्य रहनेछ । यस सत्रमा नेपालका सातओटै प्रदेशका नेपाली लोकसंस्कृति सम्बन्धमा गोष्ठीपत्रको प्रस्तुत्ति हुनेछ भने नेपालबाहिरको नेपाली लोकसंस्कृति सम्बन्धी म्यानमार, बंगलादेश, भुटान, थाइल्यान्ड, चीनको तिब्बतका साथै भारतका पश्चिम बंगाल, सिक्किम, मणिपुर, असम, देरादुन आदिबाट गोष्ठीपत्र प्रस्तुत हुनेछ ।
हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’ विषयमा डा. जगमान गुरुङबाट, ‘हिमवत्खण्डमा नेपाली भाषा र नेपाली लोकसंस्कृतिको अवस्था’का बारेमा पवन चाम्लिङ किरणबाट र ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृतिक’ का सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन हुनेछ ।
यसैगरी दोस्रो दिन चैत २ गते राष्ट्रिय सभा गृहमा हिमवत्खण्ड कर्न्सट हुनेछ । जसमा नेपालका तर्फबाट १. नौमती बाजा, सङ्गिनी भाका, वालुङ भाका (वालुङभोटे समुदायमा प्रचलित लोकधुन), ४. स्याब्रो भाका (शेर्पा समुदाय प्रचलितगीत तथा नृत्य), ५. तामाङ सेलो भाका, ६. पालाम भाका (लिम्बू समुदायमा प्रचलित गीत तथा नृत्य), ७. साकेला भाका (पूर्वी पहाडी भेगमा बसोबास गर्ने किरात राई समुदायको भाका), ८. झिझिया (तराई-मधेश मैथिली समुदायमा प्रचलित गीत तथा नृत्य ) ९. मैथिली धुन (छठी पर्व लोकलय), १०. धिमाल भाका धून (पूर्वी मधेशमा बसोबास गर्ने धिमाल समुदायको ) ११. सोरठी भाका (मगर समुदायमा प्रचलित), १२. मारुनी भाका, १३. नेवारी धुन (काठमाडौँ उपत्यकामा प्रचलित), १४. ठाडी भाका धुन (सुदूरपश्चिममा प्रचलित लोकलय), १५. सखिया पैया (पश्चिमा थारु, गीत तथा नृत्य), १६. कौरा (गण्डकी प्रदेशका मगर समुदायमा प्रचलित गीत तथा नृत्य), १७. ढोटी भाका ( थकाली समुदायमा प्रचलित लोकलय), १८. सिङ्गारु भाका (कर्णाली प्रदेशमा प्रचलित गीत तथा नृत्य), १९ हुड्केली धुन (सुदूर पश्चिम), २०. टप्पा भाका (कर्णाली प्रदेशमा प्रचलित), २१. देउडा भाका (गीत तथा नृत्य) नेपालबाहिर १. सिक्किम २. दार्जिलिङ ३. मेघालय ४. मणिपुर आदिबाट सांस्कृतिक प्रस्तुति हुनेछ ।
यसैगरी तेस्रो दिन चैत ३ गते होटल लेमन ट्री, बुढानिलकण्ठमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । जसमा सञ्चारमाध्यममा नेपाली भाषा (समूह विमर्श)), कविता उत्सव तथा समापन सत्र हुनेछ । सोही दिन घोषणापत्र तयारी समितिका तर्फबाट घोषणा-पत्र जारी हुनेछ र त्यसपछि कविता उत्सव हुनेछ । कविता उत्सवमा देश तथा विदशेका विभिन्न पुस्ताका चर्चित १५ जना कविका कविता वाचन हुनेछन् । यसपछि सभाध्यक्षबाट हिवमत्खण्ड कला-साहित्य-संस्कृति मञ्चको घोषणा हुनेछ ।
सम्मिलनका मुख्य आकर्षणहरू
नेपालका सातओटै प्रदेश हिमाल, पहाड, तराईका सांस्कृतिक झाँकीहरूको प्रतिनिधित्व गराइने छ । सम्मिलनमा नेपालबाहिरबाट एक जना गोष्ठी – पत्र विज्ञसहित बढीमा ५ जनाको समूह बनाउने गरी आमन्त्रण गरिएको छ । नेपालका सातओटै प्रदेशबाट एक एक ओटा गोष्ठी-पत्र प्रस्तुत गरिने छ । नेपालबाहिरका सहभागी स्थानबाट प्रतिनिधिमूलक गोष्ठी-पत्र प्रस्तुत गरिने छ । सम्मिलन स्थल तथा मञ्चलाई मौलिक नेपालीपनको झल्को दिने गरी सजावट गरिने छ। सम्मिलनमा सांस्कृतिक प्रस्तुति गरिने छ । सम्मिलनमा प्राज्ञिक विमर्श गरिने छ । समस्त दर्शक तथा सहभागीलाई सम्भव भएसम्म आ-आफ्ना मौलिक तथा राष्ट्रिय पोसाकमा सहभागी हुन अनुरोध गरिनेछ ।
सम्मिलनका उद्देश्यहरू:
हिमवत्खण्ड संसारकै गौरव हो । यही गौरवशाली भूखण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वप्रसिद्ध हिमशृङ्खलाहरू अवस्थित छन् । भारोपेली तथा भोट बर्मेली भाषाको आधारक्षेत्रका रूपमा रहेको यस भूभागमा अस्तित्वमा रहेका नेपालीसहित विभिन्न भाषा, सभ्यता र संस्कृतिको उन्नयन, आपसी सद्भाव र सांस्कृतिक एवम् मौलिक सिर्जनशील पक्षको महिमागान एवम् विचार विमर्श यस सम्मिलनको खास उद्देश्य रहने छ । हिमवत्खण्डका समस्त सांस्कृतिक वैभवप्रति गर्व गर्दै यहाँको प्रकृति, संस्कृति तथा मानवीय मूल्यको संरक्षण गर्नु यस सम्मिलनको उद्देश्य हुने छ । हिमवत्खण्डको यस भेगमा सिर्जित वैदिक तथा बौद्ध वाङ्मय, ज्योतिषविज्ञान, योग एवम् आयुर्वेद र अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ ।
ज्ञान तथा चेतनाका ती महिमाशाली परम्पराप्रति गौरवबोध गर्नमा यस सम्मिलनले थप भूमिका खेल्ने छ । हिमवत्खण्डका मौलिक तथा रैथाने संस्कृति, ज्ञानपरम्परा, तन्त्र-मन्त्र कला – साहित्य, रीतिरिवाज, शिल्पकला, वेशभूषा, खानपानं, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सम्मिलनले यस क्षेत्रमा पुनर्जागरण ल्याउने छ । हिमवत्खण्डका प्राचीन सभ्यता, सांस्कृतिक, सामाजिक, भौगोलिकलगायतका विविध आयामहरूबारे खोज-अन्वेषण, अध्ययन-अनुसन्धान तथा संरक्षण, संवर्धन र प्रवर्धन गर्नका निमित्त यस सम्मिलनले ऊर्जा प्रदान गर्ने छ । नेपाल अनेक जातजाति, संस्कृति तथा भाषाभाषीका इनद्रेणीको रूपमा परिचित रहँदै आएको छ । यस मुलुकमा रहेको प्राकृतिक, जैविक तथा सांस्कृतिक विविधता नै यस धराको ऐश्वर्य हो ।
यस सत्यलाई आत्मसात् गरी अन्तर्राष्ट्रिय एकताको सेतु नेपाली राष्ट्रिय संस्कृतिको संवर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो । यो सम्मिलनको अर्को उद्देश्य भनेको मुलुकको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहुसांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आव्हान गर्नु पनि हो । भाषिक घनत्वका दृष्टिले नेपाल अनुपम भूमि रहिआएको छ र हाल बोलचालमा रहेका १ सय २३ भाषा तथा तीसँग जोडिएका संस्कृतिको जीवन्तता यसको प्राण हो । यसलाई नागरिक तथा सरकारी दुवै तहका प्रयत्नबाट जोगाउनु तथा एक आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक छ । नेपालका भाषा र संस्कृतिहरूको संरक्षणका लागि विशेष भूमिका निर्वाह गर्नका लागि सम्बद्ध सबै पक्षमा चेतना जागृत गराउनु यस सम्मिलनको थप उद्देश्य हुने छ ।
हिमवत्खण्डका सांस्कृतिक वैभवलाई उजागर गरी आपसी सहकार्य र सद्भावलाई थप सुदृढ बनाउने, आपसी हार्दिकतालाई अझ प्रगाढ बनाउने एवम् हिमवत्खण्डको वैभवलाई विश्वव्यापीकरण गर्ने दिशामा सम्मिलनले महत्वपूर्ण भूमिका खेल्ने छ । हिमवत्खण्डका संस्कृतिकर्मीहरूको साझा मञ्च बनाउने र उक्त मञ्चका माध्यमबाट समय समयमा पालैपालो सांस्कृतिक सम्मिलन आयोजना गर्ने योजना पनि सम्मिलनले अघि सार्ने छ । हिमवत्खण्डका ज्ञानसम्पदा र सांस्कृतिक गौरवलाई विश्वमा फैलाउनु पनि यस सम्मिलनको महत्वपूर्ण उद्देश्य हुनेछ ।
हिमवत्खण्डको बारेमा
नेपाल हिमवत्खण्डको केन्द्र स्थल हो । नेपाल सभ्यता र ज्ञानको पवित्र भूमि हो र यो विश्वमा मानव सभ्यताको आदिभूमि हो । ज्ञानोदयको आदिभूमि हो । यसै हिमवत्खण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको हो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको हो । हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास प्रभृत्ति महान् कविहरूको जन्म भयो । यहीँ नै ने मुनि नामका ऋषि र किरातहरूका ऋषि आकुनीले ख्याती कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठभूमि मानिएको हो । यसै पावन भूमिमा गौतमबुद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रसारित भयो ।
प्राचीन नेपाल अहिले भन्दा ठुलो थियो । विक्रमादित्यका छोरा समद्र गुप्तको प्रयागस्थित अभिलेखमा- ‘कामरुप (आसाम) र कर्कपुर (कुमाऊँ र गडवाल क्षेत्र सबै) को बिचको देशलाई ‘नेपाल’ भनी वर्णन गरिएको छ । हिमवत्खण्डको यो विशाल यज्ञभूमि, तपोभूमि, ज्ञानभूमिमा कैयौं ऋषि महर्षिहरूले ज्ञानको आविष्कार गरेर गरेका थिए । उनीहरूले नै अनेक धर्मशास्त्र, नीतिशास्त्र, राज्यशासनका विधिविधानहरू सृजना गरेर हिमवत्खण्डलाई युगयुगसम्मं सङ्गठित गराउने थिति बसाले । हिमवत्खण्डले ओगट्ने भौगोलिक क्षेत्रफल जति विविधतापूर्ण र विशाल छ, त्यत्तिकै यसको गहनता र महत्ता पनि व्यापक र विशाल छ । यस भूखण्डका भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक मूल्यहरू विशिष्ट छन् । प्राचीन ऋषिमुनिहरूको पवित्र तपोभूमि भन्ने बुझिन्छ । हिमवत्खण्ड भनेको पूर्वदेखि पश्चिमसम्म विस्तारित पौराणिक ग्रन्थहरूका अनुसार हिमवत्खण्ड भन्नेबित्तिकै हिमालय श्रृङ्खला समाविष्ट भूगोलको एउटा खण्ड हो । हिमवत्खण्डबारे प्राचीन कालदेखि नै विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन् । वेदव्यासद्वारा रचित अठार पुराणहरूमध्ये प्रमुख स्कन्द पुराण पनि हो । यसअन्तर्गत एउटा खण्डमा हिमवत्खण्डको महिमा वर्णन गरिएको छ । स्कन्द पुराणको यसै खण्डमा वर्णन गरिएअनुसार हिमालयपालित सिन्धु प्रदेशदेखि ब्रह्मपुत्रसम्म फैलिएको मानसरोवर समन्वित भूखण्ड नै हिमवत्खण्ड हो ।
संस्कृतका महाकवि कालिदास रचित ‘कुमारसम्भव’मा ‘हिमवत्खण्डलाई सवा लाख पर्वतमाला समावेश रहेको हिमालय पर्वतको भूखण्ड, जसले पूर्व र पश्चिम दिशाका समुद्रलाई स्पर्श गर्छ’ भनी वर्णन गरिएको छ । यस वर्णनअनुसार हिमवत्खण्ड हिमवत्खण्ड भन्नाले हिमाली भू-भाग मात्र नभई हिमालदेखि समुद्री सतहसम्मको भूखण्ड हो र यसअन्तर्गत समुद्री सतहबाट करिब ६६०० मिटर उचाइमा अवस्थित कैलाश पर्वत, ४५०० मिटर उचाइमा रहेको मानसरोवर ताल आसपास करिब २५०० किलोमिटर पूर्व र पश्चिमसम्म फैलिएका विशाल हिमाली श्रृङ्खला र ती हिमालय श्रृङ्खलाका फेदीबाट बहने खोला, नदी, झरना, तालतलैया तथा तिनको जलाधार क्षेत्र एवम् अनेकौँ भौगोलिक बनावटसहितको समष्टि भन्ने बुझिन्छ ।
पश्चिममा कैलाश मानसरोवरबाट प्रस्रवित सिन्धु नदी, पूर्वमा तिब्बतबाट प्रवाहित भई हिमवत्खण्डको पूर्वी भूभागबाट भारतको अरुणाचल प्रदेश एवम् बङ्गलादेश हुँदै हिन्द महासागरमा मिसिने ब्रह्मपुत्र नदी (जसलाई तिब्बतमा दिहाङ्ग नदी भनिन्छ), उत्तरमा कैलाश पर्वतसँगै हिमालय पर्वत श्रृङ्खला र दक्षिणमा गङ्गा नदी तट र यसबिचमा अवस्थित सम्पूर्ण जल, जङ्गल र जमिनसहितको क्षेत्रलाई समष्टिमा हिमवत्खण्डअन्तर्गत समेटिएको छ । भौगोलिक अवस्थितिलाई दृष्टिगत गर्दा हाम्रो देश नेपाल लगभग समग्र हिमवत्खण्डको मध्य भागमा पर्छ । हिमवत्खण्डको सम्पूर्ण ओज थेग्न सक्ने र यहाँका परम्परित विशेषता भएको सानो तर सुन्दर हिमाली देशका हामी नेपाली यसै भूखण्डका बासिन्दा हौं । नेपाल हिमवत्खण्डका सम्पूर्ण अवयव विशेषताको प्रतीक हो । यस देशले सम्पूर्ण हिमवत्खण्डको पूर्ण प्रतिनिधित्व गर्ने क्षमता राख्दछ । हामीले यस भूमिको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, आध्यात्मिक र प्राचीन महत्वबारे जान्नुपर्छ र यस धरामा उत्पत्ति भएका वैदिक सनातन धर्म, संस्कार, संस्कृति, ज्ञानपरम्परा, मूल्य-मान्यतासँग एकाकार भई तिनलाई युगानुकूल बनाउँदै लैजानुपर्छ । यद्यपि हाम्रो समाजमा समाजविकासका क्रममा कतिपय सङ्कीर्ण रुढिवादी परम्परा विकसित नभएका होइनन् । यसबारेमा विद्वानहरूबिच गहनतम छलफल हुनुपर्छ र समाजमा विकसित हुँदै आएका त्यस्ता विकृतिहरूका विरुद्ध सङ्घर्ष गर्दै तिनलाई परिकृष्त गर्दै जानु पर्छ । यो आजको समयको माग हो । यस हिमवत्खण्डमा प्रादुर्भाव भएको वैदिक वाङ्मयको परम्परा, सभ्यताको प्रकाश र संस्कार-संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुनु जरुरी छ । हिमवत्खण्डमा अवस्थित हाम्रो गौरवपूर्ण परम्परा तथा यसको महत्व सबैले बुझ्नु जरुरी छ र सबैलाई बुझाउनु पनि जरुरी छ । यसै सन्दर्भमा मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा वि.सं. २०७५ असार २९, ३० र ३१ गते भानु जयन्तीका अवसरमा मुलुकमै पहिलो पटक ‘हिमवत्खण्ड कला-साहित्य सम्मिलन-२०७५’ आयोजना गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन – २०८१’ आयोजना गर्नु वाञ्छनीय छ र यस्तै महत्वपूर्ण आयोजनाहरूबाट हामीले हाम्रा पूर्वजहरू र उनीहरूले निर्माण गर्दै आएका मानवीय एवम् सामाजिक मूल्यहरूलाई युगानुकूल व्याख्या गर्दै अगि बढाउन सक्छौं ।