पहिराले थुनिएको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

FILE PHOTO

काठमाडौँ – पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ ।

गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो। थप जोखिमको अवस्था अध्ययनका लागि आज बिहानै पहिरो गएको ठाउँतर्फ हिँडेका छौं,’ उनले भने । तलाउ एकैपटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ । गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो। धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ। दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए । पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन । किसानले टाढैबाट देखेर खबर गरेका हुन्। केही समय खोला सुकेको थियो ।

धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ। चारवटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्