नेपाली काँग्रेसको बैठक बालुवाटारमा, यस्ता भए निर्णयहरु

File Photo

काठमाडौँ – बालुवाटारमा आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि काँग्रेसको बैठक बालुवाटारमा बसेको हो । करिब ४ घन्टासम्म चलेको बैठक १४ औं महाधिवेशन केन्द्रित रह्यो ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिका कार्यप्रगति, केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका कामकारबाही र निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिनेबारे आज छलफल भएको छ । बैठकमा भएका विषयबारे जानकारी दिँदै क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांश विवाद हल गरिसकिएको बताए ।

क्रियाशीलबारे देखिएका विवाद ७५ जिल्लामा समाधान गरिसकिएको उनको दाबी छ। कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् । तीमध्ये करिब ४८ हजार विदेशस्थित नेपाली जनसम्पर्क समितिको छ । नेता लेखकले छिट्टै प्रतिवेदन सभापति देउवालाई बुझाइने जानकारी दिए । सप्तरी र बारामा आन्तरिक समायोजनका काम नै ढिलाइ हुँदा क्रियाशील वितरण प्रभावित भएको थियो ।

उनकाअनुसार निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिनेबारे आज छलफल भएको छ । निर्देशिकालाई अन्तिम रूप दिन सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ ।

रिजालका अनुसार पूर्वनिर्धारित समयमै महाधिवेशन हुनेछ । कांग्रेसले वडा अधिवेशन साउन १२ गते तोकेको छ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ । वडा अधिवेशन गर्नु पहिले नै क्रियाशील सदस्यको विवरण सभापति देउवाले निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ ।

आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबारे र मन्त्रिमन्डल विस्तारबारे पनि कुनै छलफल नभएको दाबी लेखकको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्