आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा

काठमाडौँ – बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ ।
राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका÷हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ ।
निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिति थोरैभन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो ।
अनावश्यक कर्मचारीको उपस्थिति रोक्न डिजिटल प्रविधिमार्फत कारोबार बढाउन र भौतिक सेवालाई न्यूनीकरण गर्न राष्ट्र बैङ्कको निर्देशन छ । कर्मचारीलाई पनि सक्दो घरैबाट र दूर पहुँचबाट काम गर्न जोड दिनसमेत निर्देशनमा उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्थालाई नजिकै रहेका शाखाहरूको हकमा थोरैभन्दा थोरै शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखाबाट आलोपालो सेवा प्रदान गर्नसमेत राष्ट्र बैङ्कको निर्देशन छ । बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, खुल्ने वैकल्पिक शाखा तथा समयावधिसम्बन्धी सूचना दैनिक रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
बढ्दो कोरोना सङ्क्रमण जोखिमलाई ध्यान दिँदै सेवाग्राहीलाई सम्भव भएसम्म ‘फेस टु फेस’ बैङ्किङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न राष्ट्र बैङ्कको आग्रह छ ।
बैङ्क तथा वित्तीय संस्थाहरूले पनि सम्भव भएसम्म बढीभन्दा बढी डिजिटल बैङ्किङ सेवा प्रयोगमा जोड दिन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्