संजिव गुरुङको नेतृत्वमा पर्वतीय पथ प्रदर्शकहरू संगठित

काठमाडौँ – संखुवासभाका युवा संजिव गुरुङको नेतृत्वमा नेपालको पर्वतीय पर्यटन विकासमा योगदान पु¥याउँदै आएका पथ प्रदर्शकहरू संगठित भएका छन् । उनीहरुले गुरुङको नेतृत्वमा ‘पर्वतीय पथ प्रदर्शक संघ, नेपाल’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरेका छन् ।

गुरुङका अनुसार पर्यटन विभागबाट पर्वतीय पथ प्रदर्शकको कार्य अनुमतिपत्र लिएका २५ वर्ष नाघेका जो कोही संघको सदस्य बन्न सक्छन् । विभागले भर्खरै नेपाल पर्वतारोहण संघ (एनएमए)बाट पर्वतारोहण तालिम पाएका ‘रेड बुक होल्डर’हरूलाई पर्वतीय पथ प्रदर्शक परिचयपत्र वितरण कार्य सुरु गरेको छ ।

नेपालमा ‘रेड बुक होल्डर’ गाइडको संख्या दुई हजार भन्दा बढी छ । अहिलेसम्म ११५ जनाले परिचयपत्र पाइसकेका छन् । परिचयपत्र पाएपछि आफ्नो हकहित सुरक्षित गर्न र पर्वतीय पर्यटन विकासमा थप योगदान पु¥याउन उनीहरू संगठित भएका हुन् । तर, केही ‘अन्तराष्ट्रिय माउन्टेन गाइड’ले विभागको कदमविरुद्ध अदालतमा मुद्दा हालेकाले तत्कालका लागि परिचयपत्र वितरणको काम रोकिएको छ ।

नेपालमा अन्तराष्ट्रिय माउन्टेन गाइडको संख्या ६५ जनाको हाराहारीमा छ । यति जनशक्तिले मात्र नेपालको पर्वतारोहण धानिन सक्दैन । यिनै रेड बुक होल्डर गाइडहरू पर्वतारोहणको मेरुदण्ड बनेका छन् । त्यसैले पर्वतारोहीको आधिकारिक संस्था एनएमएबाट तालिम पाएर काम गरिरहेका अनुभवी गाइडका बिरुद्ध अदालतमा मुद्धा हालिएकाले पथप्रदर्शकहरू आक्रोशित बनेका छन्।

‘रेड बुक होल्डर सबैले परिचयपत्र पाउनुपर्छ’, नवगठित संस्थाका अध्यक्ष गुरुङ भन्छन्, ‘हामी सबैखाले सिण्डिकेट तोडेर अघि बढ्छौं।’

यतिबेला पर्वतारोहणको मौसम छ। पथप्रदर्शकहरू पर्वतारोहणबाट काठमाडौंमा फर्केपछि संस्था स्थापना भएको औपचारिक घोषणा गरिने उनले बताए।

नवगठित संघको अध्यक्षमा संजिव गुरुङ, उपाध्यक्षमा पासाङ लामा, महासचिवमा रामकाजी तिवारी, सचिवमा लछुमन तामाङ, कोषाध्यक्षमा लालबहादुर वाइवा र सदस्यहरू भरत केसी, चन्द्रशोर राई, जेनजेन शेर्पा, दाबा साङ्गे शेर्पा, लाक्पा गेल्जेन शेर्पा र कितापसिंह तामाङ छन्।

आफ्नो संस्थाबाट तालिमप्राप्त सदस्यलाई विभागले परिचयपत्र वितरण गरेको खुसीमा नेपाल पर्वतारोहण संघले विज्ञप्ति निकालेर किन स्वागत नगरेको ? अहिले अधिकांश पथप्रदर्शकको मुखमा यही प्रश्न झुण्डिएको छ । सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्