आज अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने, कहाँ कसको नियुक्ति हुदैँ ?

काठमाडौं – लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद्का सदस्य सचिवसमेत रहेका मुख्य सचिव शंकरदास वैरागीले परिषद्बाट सिफारिस भएका सबैजनाको सिफारिस कानुनअनुसार परिपक्व भएकाले नियुक्तिका लागि मंगलबार साँझ नै राष्ट्रपतिसमक्ष नाम पठाएका थिए । परिषद्ले नियुक्तिका लागि नाम पठाएलगत्तै राष्ट्रपति कार्यालयले बुधबार सबैजनाको नियुक्तिको तयारी गरेको हो । संविधानअनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।

३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो ।

सिफारिस भएकाको नाममा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्