काठमाडौं – निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव पक्ष सहभागि नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको हो ।
शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्धय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उहाँको भनाई छ ।