मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत  पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक सरकारले निर्धारण गरेको वर्तमान मापदण्डविपरीत  छन् ।

जिल्लामा ३२ वटा क्रसर उद्योग र ७० वटा बालुवा प्रशोधन उद्योग छन् । सबै उद्योग कुनै न कुनै निकायमा दर्ता भएको पाइए पनि हालको वर्तमान मापदण्डभित्र नरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । केही बालुवा उद्योगले उद्देश्यविपरीत क्रसिङको कार्यसमेत पाइएकाले अनुमतिबाहेकका अन्य काम गर्न ती उद्योगलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ११ वटा क्रसर उद्योग र १४ वटा बालुवा प्रशोधन उद्योग समयावधिभित्र नवीकरण नभएको पाइएको छ । यसैगरी आठ वटा क्रसर उद्योग तथा १८ वटा बालुवा उद्योगले गत आर्थिक वर्ष ०७६/०७७ को कर चुक्ता नगरेको पाइएको प्रशासनले जनाएको छ ।

प्रदेश सरकारले २०७५ असोज ३० गते मन्त्रिपरिषद्बाट पास गरेको ‘नदीजन्य पदार्थ सङ्कलन र उपयोग कार्यविधि’ कुनै पनि क्रसर उद्योग मापदण्डमा नभएको हो । उक्त कार्यविधिमा क्रसर उद्योग र बालुवा प्लान्ट सञ्चालन गर्न नदी खोलाका किनारबाट ३०० मिटरभन्दा टाढाको दूरीमा, हाइटेन्सन लाइनबाट १०० मिटर, राजमार्गबाट ३०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक संस्था र सुरक्षा निकायबाट एक किलोमिटरभन्दा टाढाको दूरीमा हुनुपर्नेछ ।

यस्तै मापदण्डानुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षबाट दुई किलोमिटरभन्दा टाढाको दूरी, घनाबस्तीबाट दुई किलोमिटरभन्दा धेरै दूरी, वनक्षेत्रबाट एक किलोमिटरभन्दा धेरैको दूरी, पक्की पुलबाट ५०० मिटरभन्दा टाढा हुनुपर्ने छ । मकवानपुरमा सञ्चालित सबै बालुवा प्लान्ट उद्योग र क्रसर उद्योग मापदण्डविपरीत पाइएको हो ।

आठ दिने मूर्तिकला कार्यशाला

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आगामी पुस १२ गतेदेखि आठ दिने मूर्तिकला कार्यशाला हुने भएको छ । दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको हो ।

‘कलाका लागि कला नै’ भन्ने नाराका साथ आठ दिने मूर्तिकला कार्यशाला गर्न लागिएको आयोजक हेटौँडाको हर्नामाडीमा रहेको ज्योति माध्यमिक विद्यालयले जनाएको छ । विद्यालयको ५४ औँ वार्षिकोत्सवको अवसरमा मूर्तिकला कार्यशाला गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।

विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि कार्यशाला गर्न लागिएको विद्यालयले जनाएको छ ।

-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्