शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला

गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी त्रसित बनेका छन् । यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर टाढा रहेको वर्षे गाउँमा झण्डै १२ घर परिवार बसोबास गर्दै आएका छन् ।

द्वन्द्वकालमा तत्कालीन भूमिगत माओवादीको पकडमा रहेको उक्त गाउँमा पछिल्लो समय नेकपा माओवादी विप्लव समूहले पनि आफ्नो गतिविधि बढाउने प्रयास गरिरहेको छ । विप्लवका कार्यकर्ताले गरेको शिक्षक श्रेष्ठको हत्यालाई आफूहरूले पनि सोही रूपमा बुझेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य बताउँछन् ।

यसअघि गत वर्ष पुस ६ मा पनि उक्त समूहले सोही पालिकाको किसानचौक–टाडी रमिते सडक निर्माणमा काम गर्दै गरेका तीनवटा स्काभेटरमा आगजनी गरेका थिए । शिक्षक श्रेष्ठको हत्यासँगै गाउँमा पूरै त्रास छाएको, घास दाउरा, मेलापात, गोठालो र खेताला गर्न जान समेत गाउँलेहरू डराइरहेको स्थानीय मनोहर आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठ बताउँछन् ।

गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला विप्लवका कार्यकर्ताले चलाएको र हत्या गरिएका शिक्षक श्रेष्ठसँग आफ्नो निकट सम्बन्ध रहेका कारण आफूलाई समेत गाउँ फर्किन गाह्रो भइरहेको मदनले बताए । शिक्षक श्रेष्ठको हत्यासँगै मदन पनि गाउँपालिकाको केन्द्र मधुमल्ला बजारतिर झरेका छन् । उक्त हत्यापछि गाउँका धेरै मानिस गाउँ छाडेर मधुमल्लातिर झरेको उनको भनाइ छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्