आशाको लहरामा एक मुठी श्वास

दामोदर पुडासैनी “किशोर”

अप्ठेरो भेलले मत्थर पार्छ अहङ्कारलाई ।
जीवनभित्र जीवन खोज्ने क्रममा छौँ हामी । सहज र सजिलोमा जीवनको खास रूप र रङ भेटिँदैन । एउटै लय र आकारमा जीवनले सार्थकता भेट्दैन । क्षण क्षण जोडिएर निर्माण हुन्छ जीवन । हरेक क्षणले परिवेश भेटेन भने ऋणात्मक बन्दै जान्छ जीवन ।
अनिश्चित र अप्ठेरो— जीवन हुनुको सार्थकता यसैमा छ ।
काठमाडौँदेखि जोगाउँदै र थुमथुम्याउँदै लगेको हाम्रो फियात कारलाई अघि बढ्न नदिने फरमान जारी गरे बेनी बजारका बाटो ढुकुवाहरूले ।
हाम्रो लक्ष्य मुस्ताङ मात्र होइन उपल्लो मुस्ताङ पुग्ने छ । ‘बेनीदेखि मास्तिर हाम्रो समितिका सवारी साधनमा मात्र यात्रा गर्न पाइन्छ । आफ्नै सवारी लैजाने भए समितिलाई शुल्क तिर्नुपर्छ ।’ हाम्रो कारलाई कच्याककुचुक पारुँला झैँ गरे एउटा मुन्द्रेले ।
‘अटेर गरेर अघि बढ्ने हो भने कार र मान्छे दुवै पुग्छन् कालीगण्डकीमा’— अर्को कुन्डलेले मुक्का हानिहाल्लान् जस्तो गरे ।
हामीले काठमाडौँमै त्यस्तो कुराको सुईंको पाएका थियौँ । बाटो खराब छ भन्ने सुनेकाले बेनीको पिच सडकपछि हाम्रो गाडी अघि बढाउने कुरा पनि थिएन ।
बित्थामा गौँडामा बसेका गुन्डाहरूको धम्की खानुपर्यो ।
कालीगण्डकी पुलसँगै एउटा प्रहरी भेटिए ।
‘ए भाइ हामी मुस्ताङतिर जान लागेका, यहाँका गुन्डाहरू हाम्रो गाडी अघि बढाउन दिँदैनौं भन्छन्, जनताले आफ्नै देशमा आफ्नो साधनमा आवत जावत गर्न नपाउने के चाला हो यो ?’— मैले भनेँ ।
‘यहाँ सिन्डिकेट छ भन्ने थाहा छैन तपाईँहरूलाई । बुझी बुझी बुझ पचाउने । आफ्नो गाडी लिएर जाने भए जानोस्, तपाईँहरूको जिउधन तलमाथि भए हामी सुरक्षा दिन सक्तैनौँ, बुझ्नु भो’ । यो म्याग्दी र मुस्ताङ हो, काठमाडौँ होइन’— प्रहरी त गुन्डाको प्रवक्ता पो बने ।
‘जहाँ पाप उहीँ फलिफाप’ भएको देशमा कसको पो के भर ? हामी रनभुल्ल पर्यौँ ।
सिन्डिकेटवालाहरूको मुठ्ठीमा हलचल गर्न नसक्ने गरी देश अँठ्ठिएको छ । कानुनको पालना गराउनेहरू सिन्डिकेटवालाहरूसँग दोहोरी गाइरहेछन् ।
‘हामी चार पाँच दिन उपल्लो मुस्ताङतिरै भुल्छौँ । म पनि सरकारी कर्मचारी हुँ । फर्की नआउन्जेल हाम्रो गाडी तपाईँहरूकै चौकीको आडमा राख्छौँ हुन्न ?’— कालीगण्डकीको किनारमै रहेको बेनी प्रहरी चौकीका बर्र्दीवालासँग कुर्नेस गरुँला झैँ बोलेँ म ।
‘हामी तपाईँको गाडी हेर्न बसेका हौँ ? राती कसैले झ¥याम्झुरुम् पारिदियो भने कसले लिन्छ जिम्मा ?’— जवाफ जङ्गिलो आयो ।
‘जनताको जिउधनको सुरक्षा नगर्ने भए केलाई चाहियो पुलिस ?’— भनिदिऊँ जस्तो लागेको थियो । ‘बेतुकमा बर्बराउनुभन्दा उपाय खोज्नतिर लाग्नु बेस’— मनले अह्रायो ।
अघिल्लो दिन पाँच बजे साँझ मात्र हामीलाई बोकेर काठमाडौँबाट हुइँकिएको गाडी मध्यरातमा पोखराको माउन्टेन भ्यु होटलमा पुगेर सुस्ताएको थियो । बिहान चार बजे नै बिचरालाई कान निमोठ्दै कुदाएका थियौँ म्याग्दीको बेनीतिर ।
गुन्डाहरूले गाडी उँभो लान नदिने । गाडी सडकमै छोड्न भएन । प्रहरीको आडमै राखौँ, त्यो पनि सुरक्षा नपाइने । बिचरा गाडी घर न घाटको भयो ।
‘एउटा प्रयास गरौँ । एक पटक जिल्ला प्रहरी कार्यालय जाऔँ । मिले त्यहीँ छोडौँला भएन भने भाडा तिरेर कुनै होटलमा वा वर्कसपमा राखौँला — मेरो सल्लाह ठिकै लाग्यो क्यार, मित्रलाई । फिस्स हाँस्नुभयो; गाडी मोड्नुभयो जिल्ला प्रहरी कार्यालय म्याग्दीतिर । पाँच मिनेटमै ढोकामा पुग्यौँ ।
‘तपाईँहरू यहाँ किन ?’— बन्द ढोकाको अघिल्तिर उभिएकी एउटी प्रहरी बहिनी कड्किइन् ।
‘यो पब्लिकको गाडी राख्ने पार्क होइन, प्रहरी कार्यालय हो, फर्किहाल्नोस्’— गोर्खेलौरी ताकिन् । सायद द्वन्द्वको ह्याङओभर अझै थियो होला उनमा, जो देखे पनि उतर्सिहाल्ने ।
‘बहिनी म पनि सरकारी कर्मचारी हुँ, महालेखाको डाइरेक्टर, एक पटक तपाईँका डी.एस.पी. साहेबलाई यो कुरा पु¥याइदिनुहोस्, उहाँले नमाने फर्कौँला’— मैले अनुनय विनय गरेँ ।
‘यो मालेखा भनेको माओवादीको हो कि एमालेको ? यो देश बिगार्ने नै यिनै पार्टीहरू हुन् बुझ्नु भो’ । झन् तपैँहरूको गाडी यहाँ राख्यो भने त भोलि फसिन्छ, के के अत्तो थाप्न बेर छैन ।’
देशकै सरकारी निकायका मान्छेलाई सरकारी निकाय कुन चराको नाम भन्ने थाहा छैन । जनताले के बुभूmन् बरा ! हामी हाँस्यौँ ।
‘होइन बहिनी, हामी नेता होइनौँ । देशकै आम्दानी खर्चको हिसाब किताब जाँच गर्ने सरकारी कार्यालय महालेखा परीक्षकको कार्यालयको कर्मचारी पो भनेको त ।’
बहिनीले केही बुझे जस्तो लागेन । उनी भित्र गइन् ।
‘गाडी बाहिरै राख्नूस् । ऊ त्यहाँ इन्स्पेक्टर सा’ब हुनुहुन्छ । उहाँसँग कुरा गर्नूस्’— फर्केपछि बहिनीले भनिन् ।
म भित्रिएँ ।
‘हजुर सरकारी मान्छे नै हुनुहुँदोरहेछ । ऊ त्यहीँ राखेर जानुहोस् । केही फरक पर्दैन’— अधिकारी इन्स्पेक्टरले जिल्ला प्रहरी कार्यालय परिसरको चौरमा गाडी राख्ने ठाउँ देखाई दिनुभयो । गाडी सुस्ताउने सुरक्षित ठाउँ भेटेकामा मित्र र मलाई खुसीको घामले राम्रैसँग धाप मार्यो ।


मल्लाजतिरबाट ओर्लेको घामले भने अलि बढी नै तताउन खोज्दैथ्यो बेनी बजारलाई । सातुको झोल जस्तो धमिलो बनेर दायाँतिर बगिरहेछ कालीगण्डकी । बित्थाको कचमचले मन र मुहार दुवै बनेका छन् खोलाको धमिलो पानी जस्तो ।
‘कत्तिबेर लगाउनुभएको तपाईँहरूले ? गाडी हिँड्न हतार भइसक्यो, तपाईँहरू भने आग्रा जाने बेलामा गाग्राको कुरा गरेर बरालिने । झन्डै छोडेर हिँडेको तपाईँहरूलाई । गाडीका सहचालक रमेश बानियाँ भाइले सातो खाए हामी दुईको ।
‘अब बाटोमा होइन, भिर पहिरोमा गाडी कुद्ने रहेछ । घासामा नपुगी केही खान पनि पाइन्न रे । केही खाऔँ हुन्न ?’— मित्रको कुरा औषधी जत्तिकै थियो ।
‘तपाईँहरू गाडीमा बस्ने कि, यतै बस्ने ?— सहचालक रमेश बानियाँले प्रश्न हामीतिर र आदेश गुरुजीतिर एकै पटक फ्याँके— ‘जाऊँ जाऊँ, गुरुजी जाऊँ, तिर्खा लाग्नेले पो कुवा धाउँछ, तिर्खा लाग्नेकहाँ कुवा जाने त होइन नि !
बसपार्ककै छेउमा एउटी मगर्नी दिदीले गहुँका रोटी पकाउँदै थिइन् । हामीले दुई ओटाका दरले रोटी किन्यौँ र पोको पारेर गाडीभित्र कोच्चियौँ । चौध यात्रु र सबैका कुम्ला कुटुराले त्यो सानो मोस्टाङ गाडीमा हलचल गर्न सक्ने स्थिति थिएन ।
आँखाको नानी जस्ती छे बेनी । वरिपरि पहाडहरू आकाश नाघुँला झैँ अग्लिएका छन् । एकातिरबाट म्याग्दी खोला सुसाउँदै बगिरहेछ, अर्कातिरबाट कालीगण्डकी के के न भेटुँ झैँ झरिरहेछ । ती दुवै नदीको सङ्गम हेर्दै सुहाएको छ बेनी । पहाडको फेदीमा टाँसिएर र नदीको मिलनमा मुस्कुराउँदै गम्केकी छे बेनी । गाउँलेको नुन तेल बेनी, लाहुरेको लाज र धर्म बेनी, कर्मचारीको कर्कस बेनी, व्यापारीको बतु¥याईं बेनी, फेसनको फर्फर्याईं बेनी । मल्लाजको मर्म बुझ्ने फुर्सद छैन बेनीलाई । दरवाङको दुःखेसो बुझ्ने दकस किन खप्थ्यो र बेनीले ।
बरु, ठाउँभन्दा ठुला घर बनाउन भौँतारिइरहेछ बेनी । आफ्नै मनभन्दा टाढा टाढा भागिरहेछ बेनी । ठाउँभन्दा ठुलो रहरको थुम्को हो बेनी । बचाइभन्दा इच्छाको बयेली हो जिन्दगी । बाठा र व्यापार कला जान्ने कयौँले दुहुनो गाई बनाए बेनीलाई । कतिका लागि युगयुगसम्म नुन तेलको धिपधिपे उज्यालो बन्यो बेनी । कयौँको कमाइ खाने भरोसा बन्यो बेनी । कयौँको कमाइलाई आशामा अनुवाद गर्ने थलो बन्यो बेनी ।
परदेशमा पसिना उडाएको पैसाले पेट र पहिरनमा चमक धमक ल्याउने परिवार पनि बोक्छ बेनी । नाकको डाँडीमा छपक्कै फुलगुच्छा स्युरे झैँ गुजमुज्ज बजार बोक्दैछ बेनी ।
बेनी त एउटा बिम्ब मात्रै हो, बहाना मात्रै हो, यस्तै संस्कारमा हुर्कदै छन् अचेल अत्तरिया, अमिलिया, आदमघाट, आकासेटार, इलाम, इमिलिया, उदयपुर, उन्यौखर्क, एकादशी बजार, एक्लेभट्टी र अरू कति कति ।
गाडीमा मान्छे होइन, कुखुरा झैँ कोचियौँ हामी । न समात्ने ठाउँ छ, न टेक्ने ठाउँ नै । बेनीको बजारभरि घाम पोखिइ नसक्दै हामी चढेको मोस्टाङ गाडीले बसपार्क छोड्यो ।
हामीलाई गुन्द्रुके गुजुल्टो पारेर अघि बढ्दै छ गाडी । त्यसअघि पनि तिन पटक मुस्ताङ पुगेको हुँ म, तर हवाइजहाजबाट मात्र । दुई तिन वर्षअघि मात्र बेनी र जोमसोम मोटर बाटो पुगेपछि गाडीमै त्यता जाने रहर जागेको हो हामीमा । उपल्लो मुस्ताङ नपुगेकाले त्यता तानिएको हुँ मित्रसँग ।
‘बेनीको बजार,
जता माया उतै छ नजर
किरेमिरे जाली रुमाल’


गाडी गुडेपछि मैले सदाबहार लोकगीत गाइदिएँ ठुलै स्वरमा । गाडीमा बसेका हाम्रा नयाँ सहयात्रीले उत्सुकतापूर्वक हेरे मलाई । मेरो अघिल्तिर बसेकी एउटी अधबैँसेले झन्डै मसँगै गाऊँला झैँ गरेकी थिइन्; हाँसिन् मात्र । आँ गर्दा अलङ्कार बुझे पनि आँखा लोभी, मन पापी बन्न दिइनँ मैले । थाहै नपाई आँखा जुध्यो मन मिल्यो भने भइसकेछ हाम्रो । पछि थाहा भयो ती बहिनी तिपलिङकी रहिछिन् ।
कालीगण्डकी झन् धमिलो रूपमा अलल्ले हुँदै दक्षिणतिर झरिरहेछ । हामी उत्तरतिर लागिरहेछौँ ।
अघिल्तिर सिटमा पोखरामा अग्ज्विलरी हेल्थ वर्करको परीक्षा दिएर फर्केका दुई भाइ र दुई बहिनी छन् । मेरै आडमा हुनुहुन्छ दुई मित्र । अघिल्लो लहरमा दानाका गङ्गा पुन भाइ, घासाका सन्ते विक र मेरो छेउतिर काजी गुरुङ बसेका छन् । ह्वाङ्ह्वाङ्ती छ गाडी धुलो उडेको बेलामा पुरै धुलो, पानी वर्षिए निथ्रुक्क भिज्नुबाहेक केही उपाय छैन । धुलो, हिलो र वर्षात्ले पटक पटक लपेटिरहेछ । क्षणमै धुलाको बर्को ओड्ने, क्षणमै मुसलधारले पखालिने क्रम पुनरावृत्ति भइरहेछ ।
‘लौ गलेश्वर भगवान् हामीलाई सन्चै पु¥याइदेऊ’—अघिल्तिरकी बहिनीले पुकारिन् । नक्कले नानीको नौचम्के मुहारले मलाई कोट्याउन खोजेको भने राम्ररी बुझेँ मैले ।
‘देवताको हातमा ब्रेक छैन । गाडी लड्न लाग्यो भने थाम्न आउँदैनन् देवता । किन बित्थामा पुकार्नुहुन्छ देवतालाई ?’— मैले रूपसरा बहिनीलाई सम्झाएँ । नाम सोध्दा नभनेपछि मैले ‘रूपसरा’ नाम राखिदिएँ तिनको । अबदेखि यही नाम नै राख्छु भन्दै थिइन् बहिनी रूपसरा ।
‘अँगारभन्दा काली, दस ठाउँमा टाली’— मलाई यस्तै सम्झिए हुन्छ । कालो पहाडमाथि हिउँ हाँसे झैँ हाँसिन् बहिनी ।
‘यति राम्री हुनुहुन्छ, किन त्यसो भन्नुभयो ?’ म बोलेँ । ‘अँध्यारामा जो पनि सुन्दरी’— बहिनीको जवाफले गुह्य अर्थ बकिरहेथ्यो ।
‘देवता भनेको देवता नै हो । उनले चाहे भने बचाउलान् नि बरा ।’— देवास्थामा चुर्लुम्म थिइन् बहिनी ।
‘यो देवता सेवता केही छैन बुझ्नु भो’ बहिनी । सुरक्षित बाटो, सुरक्षित हँकाई भयो भने यात्रा सुरक्षित भो’, नत्र अप्ठेरामा को आउँछ र बचाउन’— मानववादी सिद्धान्तका प्रखर अभियन्ता हुनुहुन्छ मित्र । देवताको बारेमा स्पष्ट धारणा राखिदिनुभयो उहाँले ।
‘हो त, देवता छ भने किन अप्ठेरामा परेकालाई झन् तड्पाउँछ उसले’— गङ्गा पुनजी पनि अलि खरो उभिनुभयो तर्कमा ।
‘हेर्नुहोस्, देवताले सृष्टि र संहार गर्ने हो भने आफ्नै भक्तलाई पीडाको भुमरीमा पार्नु हुँदैनथ्यो नि । गएको वर्ष केदारनाथ दर्शन गर्न गएका हजारौँ भक्त बाढी पहिरोमा परेर मरे । देवताकै दर्शनमा पुगेका भक्तहरू भने विपत्तिमा परेर मारिने तर देवताको खिल्ली उडाउनेहरूलाई भने देवताले केही गर्न नसक्ने, अनि कसरी देवताको अस्तित्व छ भन्नू’— मैले थपेँ ।
‘आत्मा, परमात्माको कुरा गर्छन् । बनाउने उही, बिगार्ने उही, संसारमा सबैभन्दा बुद्धिमान् उही, पाल्ने उही, फाल्ने उही भन्छन् । साँच्चै परमात्मा छ कि छैन लौ स्पष्ट बताउनुहोस् त दाइ ।’ निश्छल पत्रकार शैलीमा सोधिन् बहिनीले ।
म भट्याउन थालेँ ।
‘हेर्नुहोस् बहिनी कयौँ मान्छेहरू परमात्मा छ भन्छन् । काली, देवी, कृष्ण, राम, विष्णु, शिव, भूतप्रेत, सबै परमात्माको अंश हो भन्नेहरू पनि छन् । सारा संसारलाई परमात्माको निवास मानेर परमात्मा आफैँ सर्वव्यापी, सर्वशक्तिमान् र त्रिकालदर्शी हुन्छ भन्नेहरू अनेक शास्त्रहरू लेखिरहेछन् । परमात्मा काल्पनिक कुराबाहेक केही होइन । हरेक चिजको पछाडि कारण र कर्ता हुन्छ । परमात्माले संसारको सृष्टि गरे भन्ने हो भने परमात्माको सृष्टि वा रचना कसले गरेको हो त्यसको जवाफ कसैसँग छैन । यदि संसार आफ्नो रचयिताविना अस्तित्वमा आउन सक्तैन भने परमात्मामा कसरी अस्तित्वमा आउँछ ? परमात्मा स्वयंलाई पूर्ण भनिन्छ । उसलाई के अपूर्णता भएर यो संसार बनायो, त्यसको जवाफ छैन । यो संसार सूक्ष्म प्रोटोन समूह र अमिबाका छोटा छोटा टुक्राको परिणाम हो भन्ने पुष्टि भइसकेको छ ।
मैले थप्दै गएँ ।


भूगर्भशास्त्रअनुसार करोडौँ वर्षपूर्व जमिन तातो र तरल थियो । कुनै प्राकृतिक ग्याँसका कारण पृथ्वीको तातो, बाफ बनेर उड्यो र पृथ्वीको तरलता समाप्त भयो । परमात्मालाई सर्वशक्तिमान् र बुद्धिमान् भनिन्छ तर भूकम्प, वर्षा र मौसमका कारण कयौं विपत्ति आउँदा परमात्मा किन केही गर्न सक्तैन ? यदि परमात्मा बुद्धिमान् र विवेकी हो भने किन पानी नै पानी भएको समुद्रमा पानी वर्षन्छ ? समुद्रको पानी बाफ बन्छ, बाफ चिसिएर पानी पर्छ भन्ने तथ्य लुकाएर परमात्मा भन्ने अदृश्य कुराको पछि लाग्दैछन् केही मान्छेहरू । बिजुली चम्किनु प्राकृतिक कारण हो । कयौँको घरबार ध्वस्त हुन सक्तछ । परमात्मा छ भने किन यस्तो नकाम गर्छ उसले ? भारतको चेरापुँजीका जनता बढी वर्षाले आक्रान्त छन्, मरुभूमिका जनता पानी पिउन नपाएर मरिरहेछन् । संसारका पालक परमात्मा हुन् भने किन त्यस्तो भइरहेछ ? परमात्मा सर्वशक्तिमान् र सबैका पालक भए रोग किन लाग्छ मान्छेलाई ? किन पशु र मान्छेको रचना गरियो र हिंस्रक जनावरद्वारा मान्छे मारियो ? परमात्मा मन्दिर, मस्जिद र चर्चहरूमा बस्छ भनिन्छ तर किन त्यहीँ हुन्छ लुट ? किन त्यहीँ हुन्छ चोरी र व्यभिचार ? किन आफ्नै मन्दिर भूकम्प र पहिराले भत्काउँदा बचाउन सक्दैन ? किन धर्मको नाममा लडाइ र झगडा गरेर मर्छन् र मारिन्छन् बर्र्सेनी कयौँ मान्छे ? परमात्मालाई पालक त भन्छन् तर किन आफ्नै बच्चाहरूमाथि निर्दयी व्यवहार गर्छ परमेश्वर ? परमात्मा छैन बहिनी । परमात्माले होइन, प्रकृति आफैँले सृष्टि र विनाशको क्रम चलाइरहन्छ । त्यो चल्नुमा पनि केही कारण हुन्छ नै । त्यसैको लाभ हानि व्यहोरिरहेछन् प्राणीहरूले ।’
बाटो कटाउनु न थियो । लामो व्याख्या गरेँ मैले । गाडीभरिका सबै यात्रुहरूले ध्यानपूर्वक सुनिरहे मेरो कुरा ।
हिले सडकमा ढलपल ढलपल गर्दै गुडिरहेको गाडीले हामी सबैलाई निफनिरहेको नाङ्लामा हल्लिरहेको पोगटा बनाइरहेथ्यो । ज्यान कुन बेला गुटमुटिन्छ अत्तोपत्तो थिएन । त्यही डर शान्त पार्न पनि हाम्रो गफ चर्किइरहेथ्यो ।
समय र प्रकृतिजत्तिको शक्तिशाली अरू के नै छ र यो संसारमा— करिब करिब सबैको सहमति भयो । थोरै समयमै हाम्रो सहयात्रा पूर्ण परिचितको झैँ बनिरहेथ्यो ।
केही वर्षअघि म गलेश्वर पुग्दा मन्दिर र केही घरहरू मात्र थिए । अहिले बस्ती बाक्लिएछ बेस्सरी । राहुखोला र कालीगण्डकीको दोभानतिर विशाल र भव्य शिलामाथि रहेको शालिग्रामलाई गलेश्वर महादेवको रूपमा पुज्ने चलन झन् झाँगिएको रहेछ । दोहोरिलत्ता भक्तहरू गलेश्वर द्वारबाट भित्र बाहिर गरिरहेको देख्दा एउटा मेलाको झल्को आइरहेथ्यो ।
देवस्थलहरू स्थापनाका पनि आआफ्नै किम्बदन्ती छन् । ‘म्याग्दीको कुनै गाउँमा ‘गले’ नामको गोरु थियो । बारी जोत्ने बेलामा साथीसँग हिँड्नै छोडिदियो । गोठालाले त्यहीँ ठुलो ढुङ्गामाथि रातासेता ध्वजा बाँधिदिएपछि गले गोरु पनि साथीसरह जोत्न थाल्यो । गले गोरुले जाँगर प्राप्त गरेको शिला भएकाले गलेश्वर भनिएको’— गङ्गा पुनजीको तर्क सार्वजनिक भयो ।
‘आफ्नी पत्नी सतीदेवीले आत्महत्या गरेपछि शिवजी विक्षिप्त बने र लास नै बोकेर डाँडाकाँडा भौतारिए । कुहिएको लासबाट उनको गलो खस्यो । सतीदेवीको गलो खसेको ठाउँलाई सबैले ‘गलेश्वर’ नाम दिए र पूजाको क्रम बढाए’— मैले स्वस्थानीको कथनलाई कन्याइदिएँ ।
‘गाँजा र भाङमा मस्त हुने, खरानी घस्ने, बाघको छाला ओड्ने, सर्पलाई काँधैमा बेरेर हिँड्ने नामुद ड्रगिस्ट र बिन्दास जीवन शैलीका भए पनि शिवजी पत्नीप्रेमी चाहिँ रहेछन् हगि’— मेरो आडकै अर्को मित्रले थप्नुभयो ।
पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिममा रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बिचमा अवस्थित गलेश्वर क्षेत्रले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर क्षेत्रमा बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जगविना नै निर्माण गरिएको शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, एक सय आठ शिवलिङ्ग, साँढेका विशाल मूर्ति र राधाकृष्ण मन्दिरहरू निर्माण गरिसकिएकाले धार्मिक सजधज राम्रै देखिन्छ । मौका पायो कि मन्दिर र मूर्ति ठड्याइहाल्ने हिन्दुहरूको बानी राम्रैसँग प्रतिविम्बित भएको देखियो गलेश्वर क्षेत्रमा । त्यसअघि पनि धेरै पटक पुगेको थिएँ म त्यस क्षेत्रमा ।
‘ऐया ! ऐया ! मेरो त खुट्टै भाँचियो कि क्या हो !?’— हामी चढेको गाडी बेस्सरी उफ्रिँदा मेरो बगलमा बसेका गर्बुजा भाइको खुट्टा ह्यामरले कुच्याएको किला जस्तो भएछ । बिचराले रगत पुछ्दै हात बाँधे रुमालले । घाउ, चोट र घबराहटलाई ठुलो मान्ने हो भने कहाँ सुबिस्ता मिल्छ र जिन्दगीमा ? ‘रगत राम्रोसँग पुछ्नुहोस् भाइ, थामिएन भने त गाह्रो पर्छ नि’— ढाडस दिने वाक्य थियो मेरो ।
शरीर छ र पो दिनदिनै च्यातिन्छ छाला, दुःख्छ मन, ज्यानमा घाउ चोट लागेन र रगत निस्केन भने के अर्थ हुन्छ र ज्यान हुनुको ? जिउ रह्यो भने कुनै न कुनै बेला पाइन्छ घिउ पिउन । हामी पहाडमा बस्नेहरू रगत बग्ने र बगाउनेसँग डराउँदैनौँ ।’ भाइको जवाफ सुन्दासुन्दै माथितिरको डन्डीमा मेरो टाउको ड्याम्म बज्रियो । दुखाइको पीडा बयान गर्नै नसक्ने अवस्थामा पुगेँ म ।
भक्तपुरका एक कर्मचारी नेपाल वायु सेवा निगम भवन अघिल्तिर टेम्पुको डन्डीमा ठोकिएर घटनास्थलबाटै समाप्त भएका सम्झिएँ मैले ।
कडा दुःखाइ भेटेपछि मत्थर बन्दै जान्छन् साना पीडाहरू ।— सोचेँ मनमनै ।
‘आत्था ! मैले त तिरीमिरी झ्याइँ देखेँ’— ठोक्किएको निधार सुमसुम्याइन् दायाँ सिटमा बस्ने बहिनीले । हेर्दाहेर्दै आलु पो फल्यो बहिनीको निधारमा ।
“अ.हे.ब.को निधारमा आलु जत्रो टुटुल्को, हाम्रो निधारमा भए पो पिर । तै ठम्याएरै फलेछ बहिनीको निधारमा आलु ।” हाँसो मज्जाले गुञ्जियो । बहिनीले भने रुन्चे हाँसोमा सुमसुम्याइरहिन् टुटुल्को । खुकुरीको चोट अचानालाई पो थाहा हुन्छ, अरू त तमासे न हुन् ।
‘आकाशको राहु पातालको केतु, यति भएपछि अझ नचेतूँ ?’ रूपसरा बहिनीको उखानमा हाँसो मात्र थिएन । हामीलाई सजग पनि पारिरहेथ्यो ।
नाम मात्रको छ सडक । सडकमा माथितिरबाट ढुङ्गा बरबरी खसिरहेछन् । कुन बेला डाँडातिरबाट झरेका ढुङ्गाले हामी चढेको गाडीलाई तिल पिधेँ झैँ किचिमिची पारेर कालीगण्डकीमा तै¥याउने हो मनमा त्रास उर्लिरहेछ । सडकमा ढुङ्गाहरू तेर्सिइरहेका कति कति । रमेश भाइ बुद्रुक्क ओर्लन्छन् ढुङ्गा पन्छाउँछन्, गाडी अलि पर गुड्छ, फेरि सडकभरि पानी जमेर ताल भेटिन्छ । सडक नै पहिराले लगेर भित्तामा टाँसिदै गाडी गुड्नुपर्ने बाध्यता त कति कति । गाडीको गतिमा एक रौँ फरक प¥यो भने उत्तिनखेरै कालीगण्डकीका माछाको आहारा बन्न बेर छैन ।
मृत्युनजिक पुगेपछि मोह बढ्दो रहेछ जिन्दगीको । मृत्युको तुइनमा झुन्डेर जीवन खोजिरहेछौँ हामी । गाडी जस्तै अनिश्चयमा गति बोकिरहेछ जिन्दगीले । अनिश्चित जिन्दगीहरूलाई नयाँ नयाँ प्रदेशमा पु¥याइरहेछ गाडीले ।
गाडी र जिन्दगी कुन बेला खुर्मुरिन्छन् भिरबाट हामी कसैलाई थाहा छैन ।
तिप्ल्याङ बजार,म्याग्दी
२०७१ असार १५ गते, आईतबार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्