कञ्चनपुरको शुक्लाफाँटामा स्थानीय असुरक्षित पानी पिउन बाध्य, टाढाबाट बोकेर ल्याएको पानी पिउदैँ

शुक्लाफाँटा नगरपालिकामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् ।

शुक्लाफाँटा–८, चुरेफेदीको पारिफाँटामा वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् । खानेपानीका लागि अर्को विकल्प नहुँदा असुरक्षित पानी वर्षौँदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताउनुभयो । “सेतो कपडा लगाउनै हुँदैन”, उहाँले भन्नुभयो, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई÷तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको छ ।”

ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको छ । अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाट खानेपानी बोकेर ल्याउने गरेका छन् । खानेपानीको अर्को विकल्प नहुँदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासी अकवर धामीले बताउनुभयो । “माथि सतहको पानी पिउन योग्य छैन”, उहाँले भन्नुभयो, “ आर्थिक अभावका कारण यहाँका बासिन्दालाई धेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन् ।”

गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ । अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षित खानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ छ ।

“वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भन्नुभयो, “टाढाबाट बोकेर ल्याएको पानी पिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ । पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था छ ।”

“केही दिन जारको पानी पिउनका लागि प्रयोग गर्यौ । हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहँुदा स्वच्छ र स्वस्थ्य पानी पिउन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेट विनियोजन गरिएको छ । त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी र सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना छ ।”

स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्