यस वर्षको दशैँमा नयाँ नोट वितरण हुँदैन : राष्ट्र बैँक

काठमाडौं – दशैं भन्नासाथ धेरैलाई मान्यजनको आशिर्वाद र नयाँ नोटको याद आउँछ । तर यसपाली भने सर्वसाधारणले दशैँकै लागि भनेर नयाँ नोट साट्न नपाउने भएका छन् । कोरोना संक्रमणबाट बच्च नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

दशैका लागि भनेर नेपाल राष्ट्र बैकले नयाँ नोट छापेर राखेको भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट जोगिनका लागि भन्दै यसपाली नयाँ नोट नसाट्ने निर्णय गरेको हो ।

बैंकले बडा दशैं लगायत चाडवाडमा सर्वसाधारणका लागि साना दरका साथै चलनचल्तीका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दशैं संघारमा आइपुग्दा पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले आधिकारीक रुपमा नयाँ पैसा नसाँटे पनि बैंक तथा वित्तीय संस्थामा कारोबारका क्रममा भने सर्वसाधारणले नयाँ पैसा पाउन सक्ने प्रवक्ता भट्टको भनाइ थियो । यस अघि दशैंको समयमा मात्र ५० देखि ६० अर्बको नयाँ नोट बजारमा जाने गरेको थियो ।

नेपालमा दशैँको समयमा राष्ट्र बैंक स्थापना हुनु अघिदेखि नै नयाँ नोट साँट्ने प्रचलन रहेपनि करिब डेढ दशक अघिदेखि भने राष्ट्र बैंकले दशैंलाई नै भनेर नयाँ नोट साट्ने गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्