जन्मदिन मनाउने अनेक तरिका: बढ्न थाले असहाय गाईबाच्छासँग जन्मदिन मनाउनेहरू

काठमाडौँ- राष्ट्रिय जनावर भइकन सडकमा छाडा छोडिएका गाईबाच्छालाई जम्मा गरी आश्रय दिएको स्थलमा पुगी तिनलाई खान्की दिएर जन्मदिन मनाउनेको सङ्ख्या बढ्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल भदौ २७ गते परेको आफ्नो जन्मदिन असहाय गाईबाच्छासँग मनाउन गोठाटारस्थित पशुपतिक्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित आश्रयस्थल पुग्नुभयो । गाईबाच्छा संरक्षण स्थलमा पुगी उहाँले दाना पिठो खुवाउँदै माया साट्नुभएको हो । उपप्रमुख नेपालले सडकबाट उद्धार गरी ल्याइएका गाईबाच्छाका लागि दाना पिठो र औषधोपचारका लागि रु छ हजार उपलब्ध गराउनुभयो ।

छाडा गाईबाच्छा संरक्षण गरेर अभियानले राम्रो काम गरेकाले व्यक्तिगत तवरबाट सहयोग गरी प्रोत्साहन गर्न आफू आश्रयस्थल पुगेको उहाँले बताउनुभयो । राजधानीको काठ क्षेत्रमा गाई फार्म बढेकाले तिनमा अनुगमन बढाउने, नगरपालिकाका तर्फबाट कानून बनाएर व्यवस्थित गर्न पनि आफूले नगर कार्यपालिका र नगरसभामा प्रस्ताव गर्ने उहाँको प्रतिबद्धता छ । गाईपालकले बाच्छा जन्मिएको एक दुई हप्तामै छाडा छोड्छन् । छाडा छोडेका गाईबाच्छाप्रतिको दायित्व निर्वाह गर्न गोदावरी सफाइ अभियानकर्मी बेवी राजभण्डारीले पनि आफ्ना पिता स्व बुद्धिमान राजभण्डारीको भदौ २७ गते परेको पुण्यतिथिका अवसरमा दाना पिठोका लागि रु दुई हजार हस्तान्तरण गर्नुभयो । यसैगरी भदौ २८ गते प्रणव पुडासैनी र २९ गते परेको प्रज्ञान पुडासैनीको जन्मदिनका अवसरमा अभिभावक परशुराम पुडासैनीले रु पाँच हजार संरक्षण अभियानलाई दिनुभयो ।

यसैबीच सपना सापकोटाले आफ्नो छोराको जन्मदिनका अवसरमा असहाय गाईबाच्छाका लागि ३० केजी पिठो दिनुभयो । रञ्जना दाहालले पनि आफ्नो जन्मदिनका अवसरमा पिठो उपलब्ध गराउनु भएको असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीले बताउनुभयो । घाइते गाईबाच्छाको उपचारका लागि भने बढी खर्च हुने गरेको अभियानले जनाएको छ । प्रत्येक दिनजसो मनकारीहरु जन्मदिनको अवसर पारेर आश्रयस्थल आई गाईबाच्छाका लागि सहयोग गर्ने गरेका छन् । छाडा गाईबाच्छा तस्करी हुने, सडकमा दुर्घटना गराउनेलगायत समस्या भएकाले पनि यिनलाई व्यवस्थित गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भेग र पशुपति क्षेत्रले उपलब्ध गराएको जग्गा गरी दुई स्थानमा करिब ३०० असहाय गाईबाच्छालाई संरक्षण गरिएको छ ।

दाताकै सहयोगमा छाडा गाईबाच्छाका लागि आहारा, उपचारलगायत सेवा जुटाइन्छ । गाईपालकले बाच्छा जन्मिएमा सडक, मठ, मन्दिर, नदी किनारमा लगी छोड्छन् । गाईलाई पनि बुढो भएपछि छाडा छोड्ने समस्या विकराल बन्दै गए पनि समाधानका लागि कुनै पनि तहका सरकारले काम गरेका छैनन् ।-रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्