सुनिल थापा सहितका राप्रका नेताहरु कांग्रेसमा प्रवेश गर्ने, मागे महामन्त्री

काठमाडौँ – पूर्वमहामन्त्री सुनिल थापासहित राप्रपाबाट राजीनामा बुझाएका नेताहरू यही साता नेपाली कांग्रेस प्रवेश गर्न लागेका छन् ।

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलसहित ३१ जनाले शनिबार राप्रपामा राजीनामा बुझाएका थिए । थापाले कांग्रेसमा महामन्त्री पद पाउनुपर्ने बताएका छन् भने केही नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने माग राखेको स्रोतको भनाइ छ ।

सभापति देउवालगायतले सहमहामन्त्री पद दिन सकिनेमा छलफल गरेका छन् तर टुंगो भइसकेको छैन ।

थापाले राप्रपामा गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए । वैचारिक मतभेदका कारण उनी राप्रपा छाडेर कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन् । शनिबार राप्रपालाई संयूक्त रूपमा बुझाएको राजीनामा पत्रमा पनि थापाले पार्टीमा सैद्धान्तिक रूपमा बिचलन आएको उल्लेख गरेका थिए । राप्रपा नेता मोहन श्रेष्ठले थापालगायतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । राप्रपामा बसेर गणतन्त्रको कुरा गरेकोले त्यो सम्भव नरहेको राप्रपाले थापालाई बताउने गरेको थियो ।

श्रेष्ठले थापालाई बाबु सूर्यबहादुरको राजनीतिक बिरासतबाट पनि च्यूत भएको बताए । ‘राजीनामाको निर्णयमा उहाँले पुनर्विचार गर्नुपर्छ,’ उनले भने, ‘उहाँले नेपालको राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनलाई ठूलो धोका दिनुभएको ठहर्छ। र त्यो गम्भीर भुल हुनेछ।’

थापा धनकुटा र भोजपुरको कार्यसमितिसहित केही केन्द्रीय सदस्य लिएर कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्