“अश्लिलताले भरिभराउ सामाजिक सञ्जाल”

एउटा अन्तरवार्ता कलाकार दिपाश्री निरौलाले राजेश हमालबारे विवादास्पद अभिव्यक्ति दिइन् । राजेश हमाललाई केही निश्चित व्यक्तिले महानायक बनाएको अभिव्यक्ति दिएपछि उनीबिरुद्ध अश्लिल शब्दहरुले सामाजिक सञ्जाल भरिए । सो विषयबारे उनले माफी मागीसकिन् तर अझैपनि उनिबारे हेर्नै नसकिने टिकाटिप्पणीहरु भेटिन्छन् ।
दिपाश्री निरौलाबारे केकी अधिकारीले आफ्नो विचार राखिन् । त्यसमा आएका प्रतिक्रियाहरु पनि हेरी नसक्नु नै थिए । अश्लिन शब्दहरुले भरिएको गालीगलौजले दिपाश्री निरौला डिप्रेसनसम्म पुग्ने अवस्था आएको कलाकार दिपकराज गिरीले बताए । उनको यो अभिव्यत्ति पनि पाच्य भएन र जथाभावी गालीगलौज सुरु भयो ।
आफ्नो देशबारे सामान्य जानकारी समेत नराखेको भन्दै नायिका पुजा शर्माको पनि धज्जी उडाइयो । केही समय अघि नेपाल भारत सीमाबारे विवाद चर्किएको बेला नायिका वर्षा राउतले दिएको प्रतिक्रियाबारे पनि हेर्नै र सुन्नै नसकिने शब्दहरुले सामाजिक सञ्जाल भरिएका थिए । शब्द मात्र हैन चरित्र नै हत्या हुने तस्बिरहरु समेत पोष्ट गरीयो ।
यतीबेला बिशेषगरी कलाकार विवादित बनिरहेका छन् । थोरै बोली चिप्लिदा उनीहरु यस्ता अश्लिल शब्द र तस्बिरका शिकार बनेका छन् । कलाकार मात्र हैन यस्ता निशानामा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्री तथा पत्रकारहरु समेत निशानामा पर्दै आएका छन् । चाहे जो होस् उसले गरेको सानो गल्तीलाई अश्लिल शब्दहरुमार्फत प्रतिक्रिया जनाउने हाम्रो परम्परा नै बनिसक्यो ।
भर्खरकै घटना हो भारतीय मिडियाहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिँया राजदुत होउ यान्छीबारे काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालले नयाँ नक्सा जारी गरे पश्चात् चिढिएको भारतले नेपालविरुद्ध निरन्तर प्रहार गर्यो । त्यही प्रहार मध्येको कपोकल्पित रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनिँया राजदुतबारे अपवाह फैलाउन पछि परेन । यसले समग्र नेपालीको स्वाभिमानमाथि आघात पुग्यो । किनकी नेपाल हाम्री आमा अनि आमामाथिको प्रहार हामीले सहन सकेनौं ।
फेरी फर्कौ आफ्नै देशभित्रकै सेरोफेरोमा, हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा छौं । हामीसंग बोल्ने अधिकार छ ।

लागेका कुराहरु हामी स्वतन्त्र रुपमा अभिव्यक्त गर्न सक्छौँ तर प्रतिक्रिया दिने बाहानामा हामीले अश्लिलतालाई बढावा दिईरहेका छौं की । जसरी भारतले हाम्री आमामाथि जथाभावी बोल्दा हामीले सहन सकेनौंनी, त्यसैगरी तपाईले जथाभावी बोल्नुभएका व्यत्तिहरुका पनि आमाबुबा छन्, आफन्त छन् । उनिहरुको पनि संसार छ, खै हाम्रो ध्यान त्यता गएको । गल्ती मानिसबाटै हुन्छ, गल्ति सुधारका लागि सचेत गराउनु हाम्रो कर्तव्य हो । तर तरिका कस्तो अपनाईरहेका छौं त ? तपाईले गर्नु भएको कमेन्टलाई तपाईकै आमाबुबाले देख्नुभयो भने त्यसले सकरात्मक प्रभाव पार्ला र ? बच्चा अवस्थादेखीनै राम्रो नराम्रो शब्द छुट्याउन सिकाएका आमाबुबाले त्यसको प्रतिफल अश्लिल शब्दहरु देख्नु पर्ने ? अनि आफ्ना दिदी बहिनी र दाजु भाईलाई आफुले लेखेका शब्दहरु खुलेर देखाउन सक्नुहुन्छ ? सक्नुहुन्न, किनभने ती शब्दहरु हेर्नै नसकिने हुन्छन् । बोल्नै नहुने शब्दहरु लेखेर तपाईले पनि त गल्ति गर्नु भयो, अनि त्यसको प्रतिक्रिया चै कस्तो दिने ?
अन्तमा, कसैले गरेको गल्तिबारे तपाईंले अश्लिल शब्द मार्फत जनाउनु भएको प्रतिक्रियाले अर्को गल्ति थप भएको छ । त्यस्ता शब्दहरुको प्रयोगले आफ्ना सन्तानहरुलाई पनि त्यही संस्कारको हस्तान्तरण हुन्छ । एउटा नेपाली उखान छ नी, आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने भने जस्तैं हुन्छ । सबैभन्दा पहिला त सभ्य संस्कारको विकास गरौं । प्रतिक्रिया जनाउने नाममा जथाभावी नलेखौं, दुर्गन्धलाई सफाई गर्दै शब्द चयनमा ध्यान दिऔं ।
लेखक  : सुनिता पोख्रेल, काठमाडौँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्