भारतबाट फर्किएका नेपालीको जोखिमपूर्ण यात्रा

काठमाडौं – कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी साधन व्यवस्थित नहुँदा एउटै गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

भारतबाट नेपालगञ्जस्थित जमुनाह नाका हुँदै फर्किने यात्रुलाई गाउँसम्म पु¥याउन सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइने भएपनि यात्रा असुरक्षित हुने गरेको छ । कतिपय स्थानीय तहले भारतबाट फर्किने यात्रु ओसार्न फोहर सङ्कलन गर्नै टिपरको समेत प्रयोग गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताए । दुई हप्ताअघिमात्रै भारतका विभिन्न शहरबाट नेपालगञ्जको जमुनाह नाका हुँदै नेपाल भित्रिएका १२ जनाले अकालमै ज्यान गुमाएका छन् । २० जनाको सिट क्षमता रहेको मिनीबसमा ३३ जना सवार हुँदा घर जान हिँडेका २१ जना दुर्घटनामा घाइते भई भेरी अस्पतालमा भर्ना भएका छन् ।

क्षमताभन्दा बढी यात्रु सवार उक्त मिनीबसका चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक बमले बताए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट आउने नागरिकलाई ओसार्न टिपर पठाउने गरेकाले त्यसमा रोक लगाएको बताए । बसमा क्षमताअनुसारको यात्रु बसालेर सुरक्षित तवरले नागरिकलाई घर पु¥याउन आग्रह गर्दा पनि चालकको लापर्वाहीले दुर्घटना हुने गरेको उल्लेख गरे । भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।

उनका अनुसार भारतले रेल सेवा सञ्चालन गरेपछि भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेत गरेर करिब ५० हजार नेपाली नागरिक जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् । अहिले प्रत्येक दिन दुईदेखि तीक हजारसम्म नेपाली नागरिक नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । नेपाल–भारत सीमानाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपाली नागरिकलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनका अनुसार, नेपालगञ्ज नाकाबाट भित्रिने नेपाली अधिकांश कोरोना सङ्क्रमण बढी भएको भारतको महाराष्ट्र र दिल्लीबाट आउने गरेका छन् । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्