प्रजातान्त्रिक विचार समाज गण्डकीको निष्कर्ष– कोरोना भाइरस नियन्त्रणमा सरकार असफल

काठमाडौँ – प्रजातान्त्रीक विचार समाज गण्डकीले समसामयिक राजनीतिक, आर्थिक सामाजिक तथा कोभिड–१९ विषयक परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम जुम मिटिङबाट सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले काँग्रेसले तयार पारेको उदार अर्थनीतिको जगमा मुलुक चलेको बताए । बहुमत प्राप्त भएको सरकारले सैद्धान्तिक, राजनीतिक रुपमा स्थापित हुन नसकेको र बहुमत प्राप्त सरकारले नेपालको अर्थतन्त्रमा कुनै ठूलो फड्को मार्न नसकेको मुल्मीको भनाइ छ । बजेटमा २ तिहाईको सरकारले कुनै ठूलो प्रगति नगरेको र विगतका ९ महिने, १२ महिने सरकारहरुकै निरन्तरता रहेको मुल्मीले बतए । उनले भने, ‘ कम्युनिष्ट सरकारले भन्ने बेलामा एउटा भन्ने र बजेट निर्माण गर्ने बेलामा एउटा गरेको छ ।’ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा घास उखालेर बजेटको दुरुपयोग गर्ने गरेको उनको आरोप छ । उनले भने, ‘बेरोजगार कार्यकर्ताहरुको लागि रोजगार हो जनताको लागि हैन भन्नेमा दुई मत छैन ।’ सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा बजेट कम राख्नुले कृषिलाई महत्व नदिएको बुझिएको छ । समग्रमा भन्दा सकारले ल्याएको बजेट सन्तोष जनक नभएको मुल्मीको तर्क छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रजातान्त्रिक विचार समाज नेपालका अध्यक्ष डा. केदारनरसिंह केसीले कार्यक्रममा कोभिड–१९को विषयमा विशेष जानकारी गराएका थिए । सबै रुघाखोकी लागेका विरामीहरुमा कोडिभ–१९को संक्रमण नहुने उनले बताए । कोरोना भाइरसको औषधि नभएर लकडाउन गर्नुपर्ने अवस्था आएको हो । तर लकडाउन कोरोना भाइरसको औषधि नभएको डा. केसीले बताए । उनका अनुसार लकडाउमा सरकारले कोरोनाको तयारीका लागि व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य हो । ‘क्वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्तिको शौचालय भिन्नै हुनुपर्ने र चिकित्सकहरुको व्यवस्थापन हुनु पर्ने हो तर सरकारले यस्तो गर्न नसक्नु दुर्भाग्य हो,’ उनले भने । कोरोना रोकथामको लागि आरडीटी परीक्षण उपयुक्त नभएको डा. केसीले बताए । अहिले सम्म १० प्रतिशत जनताको पीसीआर परीक्षण गरिसक्नु पर्नेमा ०.३३ प्रतिशत मात्रै पीसीआर परीक्षण गर्नुले सरकार गैरजिम्मेवार भइसकेको र पदमा बस्नुको कुनै अर्थ नभएको डा. केसीको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्णबहादुर केसीले कोरोना भाइरस रोकथाममा नेपाल सरकार चुकेको बताए । सरकारले कोरोना रोकथामका लागि तयारी भन्दापनि भाषण गरेको उनको आरोप छ । सुरुका दिनमा विपन्न वर्गहरुलाई राहत वितरण गरिए पनि लकडाउन लम्बिदै जादा कसैले पनि राहत विरतणमा ध्यान नदिएको उनले बताए । नेपाली काँग्रेसले कोरोना रोकथामका लागि र राष्ट्रियताको सवालमा पार्टीभन्दा पनि माथि उठेर काम गरेको अध्यक्ष केसीको भनाई छ ।

त्यसै गरि कोभिड–१९ बाट जोगिन सामाजिक तथा व्यवहारिक उपायहरुको बारेमा बोल्दै प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष डा. गिरधारी शर्माले कोरोना भाइरसको उत्पत्ति र यसले उत्पन्न गरेको मानवीय विध्वंसमाथि प्रकाश पारे । उनले भौतिक दुरी कायम राख्दै स्वस्थ्य जीवनशैली अपनाउनु सबै भन्दा राम्रो उपाय भएको चर्चा गरे । गण्डकी अस्पताललाई कोरोना अस्पतालमा परिणत गरेर सर्वसाधारण विरामीले ठूलो दुःख पाएको उनको भनाई छ ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याल, सचिव डा. बासुदेव भण्डारी, केन्द्रीय सदस्य कृष्ण केसीले समसामयिक, राजनीतिक, सामाजिक, आर्थिक तथा कोरोना महामारीका सम्बन्धमा गहन विचारहरु व्यक्त गरेका थिए । वाग्मती प्रदेशका अध्यक्ष भरतप्रसाद दवाडी, गण्डकी प्रदेशका सचिव सुभाष पन्त, सदस्य गौकुमारी न्यौपाने, जिल्ला कार्य समिति स्याङ्जाका सचिव सीता गैरे लगायत विभिन्न जिल्लाका अध्यक्ष एवं सदस्यहरुले कार्यक्रममा विचार विमर्स गरेका थिए । प्रजातान्त्रिक विकास समाजका गण्डकी प्रदेशका सल्लाहकार प्राध्यापक पदमशरण रेग्मीले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

नेपाली काँग्रेसका पदाधिकारी, वकिल, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षक, प्राध्यापक, ईन्जिनियर, समाजसेवी तथा अन्य प्रजातन्त्रवादी पेशाकर्मीहरुहरु लगायत झण्डै ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा धारणा राख्ने अधिकांश वक्ताहरुले देशको सीमा, बैदेशिक नीति, अमेरिकी सहयोग निगम (एमसीसी) तथा कोभिड–१९ का सन्दर्भमा सरकारले उपलब्धिमुलक दिशा निर्देश गर्न नसकेको आरोप लगाए । झण्डै ३ घण्टा चलेको अन्तरक्रिया कार्यक्रम प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. अक्कलदेव मिश्रले संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्