‘खेती गर्ने बेला भो, रासायनिक मल छैन’

फाइल तस्बिर

दाङ – खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

परिवर्तन कृषि सहकारी संस्थाले कृषकलाई खेतीपातीका लागि आवश्यक पर्ने दुई सय बोरा अनुदानको रासायनिक मल माग गरेकामा युरिया र डिएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले भने । सहकारीमा सोमबार मल लिन आउनुभएका कृषक सुन्दरलाल चौधरी नपाएर रित्तो हात फर्किए। ‘‘धान खेतीका लागि मल लिन आएको थिएँ तर मल पर्याप्त मात्रामा नआएकाले सकियो भन्नुभयो’’, उनले भने। ढुवानी बन्द हुँदा जिल्लाका घोराही, तुलसीपुर र लमही नगरपालिकामा मलको अभाव देखिएको हो । जिल्लामा लकडाउनका समयमा पनि ढुवानी भएर आएको मल सबै सहकारीलाई वितरण गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीले घोराहीमा डिएपी केही मात्रामा भए पनि युरिया भने नभएको जानकारी दिए । उनका अनुसार जिल्लामा यसअघि नियमित मल आए पनि हाल भने अभाव देखिएको छ । कम्पनीको सिफारिसमा इच्छुक सहकारीले भने भैरहवाबाट मल ल्याउने गरेको केसीको भनाइ छ । ‘‘हामीसँग स्टक छैन, जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले पनि आवश्यक मलका लागि सिफारिस दिने भन्ने निर्णय भएको छ’’, केसीले भने ।

त्यसैगरी कृषि सामग्री कम्पनी तुलसीपुरले पनि अनुदानको रासायनिक मल सकिएको जनाएको छ । कम्पनीमा आएको मल जति सबै सोमवार वितरण गरेसँगै अब एक बोरा पनि मल मौज्दात नभएको बताइएको छ । जिल्लामा २५० मेट्रिक टन मल आवश्यक पर्नेमा घोराही, तुलसीपुर र लमहीमा मात्र १०० मेट्रिक टन आवश्यक पर्ने बताइएको छ । आफूहरुलाई मल ल्याउन भैरहवा जान भनिएको तर बन्दाबन्दीका समयमा आफूहरु जान नसकेको सहकारी बताउँछन् । जिल्लामा कृषि सामग्री कम्पनीले कृषि सहकारीमार्फत अनुदानको मल किसानलाई उपलब्ध गराउँदै आएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्