भारतले बनाएको सडक नेपालकै भूमिमा भएको सर्वदलीय बैठकको निष्कर्ष, भूमि फिर्ता गर्न तत्काल पहल गर्ने

काठमाडौं – सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ ।

बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर पनि गरेको छ ।
बैठकमा सहभागी सवै दलका नेताहरुले सरकारको कदम प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वक्तव्यबाजी गर्नुको साटो उच्चस्तरमा सार्थक सम्वाद गर्न आग्रह गरे ।

यसैगरी पूूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न र उच्चस्तरीय राजनीतिक आयोग बनाएर काम गर्न सुझाएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विश्वासमा लिनुपर्ने उनको जोड थियो ।

राप्रपा अध्यक्ष मध्येका एक प्रकाशचन्द्र लोहनीले सरकारले जति तदारुकता देखाउनुपर्ने हो, त्यो हुन नसकेको बताए । उनले अघि भने, ‘अब भारतसँग कूटनीतिक माध्यमबाट सम्वाद गर्दा जनतालाई विश्वासमा लिएर जानुस्, भित्रभित्र राखेर लुकाउने काम गर्नु भएन ।’

जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा प्राप्त भएको एकताका लागि धन्यवाद दिएका छन् र यो भोलिसम्म कायम रहने विश्वास व्यक्त गरेका छन् । ‘पूर्खाहरुले लडेर बचाएको नेपालाई हामीले अडेर बचाउनुपर्छ’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार राजनीतिक दल र जनताको साथ लिएर अगाडि बड्नेछ ।’

भारतसँग असल मित्रता चाहेहेको तर नेपालको भूभागको रक्षा र राष्ट्रिय हितको रक्षा सर्वोपरी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । कूटनीतिक वार्ता प्रभावकारी भएकाले तत्काल सम्वाद चाहेको भन्दै उनले भने, ‘वार्ताका लागि कोरोना कारण हुने तर आफैंले नसुझिएको बाटो उद्घाटन गर्न नसक्ने यो ठीक भएन ।’

नेपाल आफूले पठाएको कूटनीतिक नोटको जवाफको पर्खाइमा रहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्