काठमाडौँ – नेपाल व्यापार संघले विगतका बर्ष झै यस बर्ष पनि तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार काठमाडौँको खिचापोखरीमा रहेको घुँइचो रेष्टुरैन्समा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुंगानाको प्रमुख आतिथ्यतामा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. अनिता शाह ढुंगानाले देश विकासमा महिलाहको भूमिका उच्च रहेको र महिलाहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले नेपाल व्यापार संघ स्थापना २०४७ सालमा भएपनि यस्ता कार्यक्रमहरु ओझेलमा परेको र आफुले नेतृत्व गरेपछि चाडपर्व विशेष कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । महिलाहरु सक्षम र उद्यमशील बनाउन व्यापार संघ लागिपरेको समेत उहाँले स्मरण गराउनुभयो । उहाँले कार्यक्रममा व्यापारीहरुको पीर मार्कालाई समेत व्याख्या गरेका छन् । पछिल्लो समय व्यवसायिक क्षेत्रमा देखिएको आर्थिक मन्दिले व्यापारीहरु मारमा परेको स्मरण गराउदैँ यस्ता समस्या सामाधानका लागि सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो । साथै दशैँ, तिहारको समय नजिकिएकोले सहज आवतजावत तथा मालसमान सहज आयातमा सरकारले ध्यान दिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै तीज विशेष कार्यक्रम संयोजक तथा नेपाल व्यापार संघकी महिला उपाध्यक्ष पार्वती भट्ट पौडेलले महिलाहरुलाई एकिकृत गरि खुसी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने अवसर पारि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।