काठमाडौं – गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएका गोरखापत्रमा कार्यरत दार्चुलाका पत्रकार लोकेन्द्रप्रसाद जोशीलाई मंगलबार (आज) पुरस्कार प्रदान गरिएको छ ।
गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी छनोट उपसमितिको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशबाट जोशीलाई उत्कृष्ट समाचारदाताको रूपमा सम्मानित गरिएको हो ।
काठमार्डौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट पत्रकार चथा कर्मचारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा उपस्थित हुन नसकेका पत्रकार लोकेन्द्र जोशीलाई मंगलबार गोरखापत्र संस्थानको कार्यालयमा पुरस्कृत गरिएको हो । गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई (गोरखापत्र दैनिक), निमित्त सम्पादक नारदमुनि गौतम (गोरखापत्र अनलाइन प्रकाशन) लगायतको सहभागीतामा जोशीलाई सम्मानपत्र प्रदान गरिएको हो ।
संस्थानले वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमबाट जोशीसहित सातवटै प्रदेशबाट एक/एक जनालाई सम्मान प्रदान गरेको थियो । विगत नौँ वर्षदेखि पत्रकारितामा सक्रिय जोशी झण्डै पाँच वर्षदेखि गोरखापत्रमा कार्यरत हुनुहुन्छ ।
रेडियो लोकदर्पणका स्टेसन म्यानेजर समेत रहेका जोशी हाल दार्चुलाबाट गोरखापत्र संवाददाता हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा आवद्ध हुदाँ उहाँले विगतमा कालापानी सिर्जनसिलता पुरस्कार, विकास पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ ।
दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मैखोलिमा जन्मिएका जोशी आफ्नै पालिकामा रहेको रेडियो लोकदर्पणमा स्टेजन म्यानेजर भएर सञ्चार क्षेत्रमा योगदान दिनुभएको छ । समाजको ऐनाको रूपमा लेकम क्षेत्रका आवाज बुलन्द पार्दै आवाज विहिनहरूको सारथि बनेका छन् ।