दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलियो, ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे

दार्चुला– दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रोगको प्रकोप फैलिएको हो । लम्पी स्किन रोगबाट हालसम्म ४३ हजार ४ सय ७७ पशुचौपाया संक्रमित हुनुका साथै २ हजार ५ सय ४० पशुचौपाया मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दार्चुलाका नौवटै स्थानीय तहमा ४२ हजार ९ सय ३६ गाईगोरु र बाच्छाबाच्छी, ५ सय ४१ भैंसी र पाडापाडी संक्रमित भएका छन् । यस्तै २ हजार ५ सय १ गाईगोरु र ३९ भैंसी मरेका छन् ।

सबैभन्दा बढी मालिकार्जुनमा गाउँपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको छ । मालिकार्जुनमा मात्रै लम्पी स्किनबाट ९ हजार २ सय ६६ पशुचौपाया बिरामी परेका छन् भने १ सय १८ पशुचौपाया मरेका छन् ।

यस्तै जिल्लाका अन्य स्थानीय तहका कैयौं पशुचौपाया बिरामी परेका छन् भने सयौं पशु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि गोठ नै रित्तिने अवस्था आएको छ । उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषकहरु बताउँछन् ।

पशुचौपायामा ज्वरो आउने, सिँगान तथा ¥याल बगाउने, शरीरमा गिर्खा आउने, कचेरा लाग्ने, खुर पाक्नेलगायत लक्षणसहित अन्तमा पशुहरूको मृत्यु हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका पशु विकास अधिकृत डिगम्बर जोशीले बताउनुभयो ।

उहाँका अनुसार लक्षण देखिएका पशुचौपायाहरुलाई छुट्टै ठाउँमा राखी सरसफाइमा विशेष ध्यान दिई औषधी उपचार गर्न आग्रह गरिएको छ ।
नेपाल टेलिभिजनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्