काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने उसले बताएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरू मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना उसले देखाएको छ। रातिपख भने देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।