काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले कर्मचारीको तलब भत्ता दिएको छैन । २०७९ असार मसान्तमा पाउनुपर्ने तलबभत्ता अझै पनि नदिएको तत्कालिन कर्मचारीले गुनासो गरेका छन् ।
गोकुलेश्वर अस्पतालमा काम गर्ने स्वास्थ्यका कर्मचारीले आफुले काम गरेको रकम नपाएको गुनासो गरेका हुन् । कर्मचारीलाई तलब बाहेक ओभरटाइमको भत्ता प्रदान गरिदै आएकोमा आर्थिक वर्ष २०७८/७९मा काम गरेको रकम नगरपालिकाले विभिन्न वाहानामा रोक्दै आएकोमा अझै सम्म पनि दिएको छैन । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरमा विजयसिंह धामी निर्वाचित भएपछि राजनीतिक प्रतिशोधका कारण केहि कर्मचारीहरुलाई हटाएर नयाँ नियुक्ति गरिएका थिए भने केहि कर्मचारीहरुलाई निरन्तरता दिएको थियो । हटाएका र काम गरिरहेका कर्मचारीहरुले काम गरेको भत्ता अझैपनि नपाएको हो ।
त्यो भन्दा अगाडी दिएको भत्तामा नगरपालिकाले ३५ प्रतिशत कटौति गरेर दिने गरेको थियो । कुनैपनि तलब बाहेको भत्तामा १५ प्रतिशत कटौटी गरेर दिने सरकारको नीति भएपनि शैल्यशिखर नगरपालिकाले भने ३५ प्रतिशत पैसा काटेर अस्पतालका कर्मचारीहरुलाई भुक्तानी गरिरहेको थियो । आव २०७८/७९को एक वर्षभरिको ओभरटाइको भत्ता र शव पोष्टमार्टम गरेको भत्ता नपाएको अस्पतालका तत्कालिन मेसु नियाज अन्सारीले गुनासो गरे । ओभर टाइमको भत्ता प्रत्येक ६–६ महिनामा निकासा हुने गरेको थियो तर २०८९ पुषमा नगरपालिकाले बजेट अभाव देखाउँदै रकम निकासा गर्न आनाकानी गरेको थियो । २०८९ असार मसान्तमा १ वर्षको सबै रकम निकासा गर्ने नगरपालिकाले बताएको थियो । तर असारमा पनि रकम निकासा नगरेपछि कर्मचारी मारमा परेका हुन् । अस्पतालबाट पटक–पटक रकम निकासा गरिदिन आग्रह गरेपनि नगरपालिकाले वेवास्ता गर्दै आएको तत्कालिन मेसु अन्सारीले जानकारी दिए ।
यस विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसँग बुझ्दा रकम अभावको कारण भुक्तानी गर्न नसकिएको बताएका छन् । ससर्त अनुदानको रकम संघीय सरकारबाट नआएको बताउँदै रकम भुक्तानीमा समस्या भएको र संघीय सरकारलाई अनुरोध गरेको बताए ।
यता नगर प्रमुख विजयसिंह धामीले गोकुलेश्वर अस्पतालमा कार्यरत २ जना डाक्टर बाहेक चालु आर्थिक वर्षमा अरुलाई ओभरटाइम भत्ता नदिएको दाबी गरे । तर अस्पतालका एक जना कर्मचारीका अनुसार चालु आर्थिक वर्षको असोज सम्मको ओभरटाइम भत्ता अस्पतालका कर्मचारीले पाएको बताए । तर असोज यताको रकम भने अझै सम्म पनि नगरपालिकाले उपलब्ध गराएको छैन । यता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशीले कर्मचारीहरुले भत्ता नपाएको स्वीकार गरे । उनले बजेट अभावका कारण तलबभत्ता दिन नसकिएको स्वीकार गरे तर चालु आर्थिक वर्षमा भत्ता पाउदा पुराना कर्मचारीले किन नपाएको भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेनन् । आव २०७८÷८९को तलब पनि चालु आर्थिक वर्षको असोजमा मात्रै नगरपालिको भुक्तानी गरेको थियो । तर भत्ताको रकम भुक्तानी गर्न भने नगरपालिकाले आनाकानी गर्दै आएको छ ।