काठमाण्डौ – भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको र राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३४ मध्ये तीन सय ३१ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेका छन् ।
सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्धामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र नं २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिन अघि निधन भएको थियो । राष्ट्रपति पदमा गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई आज बिहान ११ बजेसम्ममा काठमाण्डौ आइपुग्न निर्देशन समेत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिदैछ ।