काठमाडाैं – नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा हुनुभएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि चौधरी बिहान रिहा हुनुभएको हो । १३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गएको माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते चलान हुनुभएको थियो । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।