काठमाडौँ – नेपलाी कांग्रेस संसदीय दलका नेता कमल शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने काँग्रेस स्रोतले बताएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार शाहले मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन् ।
आज बसेको प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि अब उपधारा ३ अनुसार सरकार बन्ने भएको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रक्रिया सुरू गर्ने बताए।