काठमाडौं – आज देशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
यसका साथै आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा भने सफा हुने महाशाखाले जनाएको छ । मौसम बदली भइरहँदा काठमाडौंको तापक्रम पनि निरन्तर घटिरहेको छ । हरेक दिन केही मात्रामा काठमाडौंको तापक्रम घटिरहेको मौसम विद्हरूले बताएका छन् ।
आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.४ मापन भएको छ । सोमबार यहाँको तापक्रम ५.५ रहेको छ । तापक्रम घटेसँग काठमाडौंमा जाडो महसुस हुन थालेको छ ।