काठमाडौँ – राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचितपछि काठमाडौं फर्किएका शाहीले विमानस्थलमै एमसीसी विरुद्ध आवाज उठाए। उनले भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने पनि बताए । शाहीले वाइडबडी काण्ड, मेलम्ची काण्ड, एनसेल काण्डजस्ता ठूला भ्रष्टाचार काण्ड मच्चाउनेहरुको भण्डाफोर संसदबाट गर्ने बताए । आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए । ‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भने पनि कठघरामा उभ्याउनेछु ।’