काठमाडौं– प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै तीनलाई चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद लक्ष्मी परियारले डेङ्गु फैलिएकाले रोकथामका लागि सरकारले ध्यान दिनुपर्ने बताउँदै यो संसद्ले पूरा गर्न नसकेका काम आगामी संसद्ले पूरा गर्ने अपेक्षा गर्नुभयो । सांसद वीनादेवी बुढाथोकीले डेङ्गुले भयावह रुप लिएको र समयमा नियन्त्रण नहुँदा ठूलो धनजनको क्षति हुने भएकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद सीताराम महतोले सुनसरीको इनरुवाको बाटो ठेक्का लागेको आठ महिना भए पनि काम अघि नबढेकाले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले बागलुङको १० किमी सडक गत वर्ष सम्पन्न हुनुपर्नेमा ५४ प्रतिशत प्रगति रहेको भन्दै ठेक्का लिएर काम नगर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद लक्ष्मीकुमारी चौधरीले गत वर्ष वर्षाका कारण धानबालीमा क्षति नपाएकाले सो रकम बढाएर स्थानीय तहमा पठाउनुपर्ने बताउनुभयो । सांसद लालप्रसाद साँवा लिम्बूले नदी नियन्त्रण प्रभावकारी बनाउन सुरु गरिएको जनताको तटबन्ध कार्यक्रम सुरु गरिए पनि कतिपय स्थानमा अहिले निरन्तर नभएकाले निरन्तरताको माग गर्नुभयो ।
सांसद बीनाकुमारी श्रेष्ठले नेपालीको प्रमुख चाड आउँदै गर्दा महँगी बढेको र निम्न वर्गका नागरिकले फुटपाथका पसलबाट कम मूल्यमा सामान पाउने भएकाले क्षेत्र निर्धारण गरेर तीनलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सांसद विमला विश्वकर्माले चाडपर्व आउँदा सानो व्यापारी विचल्लीमा परेकाले भए पनि श्रमिकलाई चाडपर्वमा भोकभोकै गर्नु ठीक नभएको बताउनुभयो ।
सांसद बृन्दा पाण्डेले अब बन्ने संसद्ले प्राप्त उपलब्धिको रक्षा, सम्बोधन गर्दै र अपुग कुराको सम्बोधन गर्नुपर्ने र आवश्यक कानुनको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद विशाल भट्टराई अघिल्लो सरकारले दूधकोसी नदीमा एशियाली विकास बैंकको सहयोगमा विद्युत् आयोजना अध्ययन गरेर निर्माणका लागि प्रक्रिया थालेको भए पनि अहिले रोकिएको भन्दै सस्तो र वातावरण अनुकूल सो आयोजना अघि बढाउनुपर्ने भनाइ राख्नुभयो ।
सांसद विष्णु शर्मा योजना नै नबनाई कमैया, कमलरी, हलियामुक्त गरेकाले अहिले उनीहरु पुनः साहुकोमा जान बाध्य भएको बताउनुभयो । सांसद शान्ता चौधरीले कमैया, कमलरीको अवस्था परिवर्तन नभएको र सुकुम्बासीलाई आश मात्रै देखाइँदै आएकाले यो समुदायले विद्रोह गर्नुपर्ने भनाइ राख्नुभयो ।
सांसद सत्यनारायण शर्मा खनाल नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको भन्दै सबैसँग मित्रता गरी जनताको भलो गर्नुपर्नेमा जोड दिनुभयो । सांसद समिना हुसेनले अवधि पूरा नहुँदै संसद् अन्त्य गर्दा संविधानलाई मिच्ने काम भएको तर्क गर्नुभयो ।