निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने बताउनुभयो ।
सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन टोली खटाउन लागेको जानकारी दिनुभयो । वैशाख १७ गते दलका उम्मेदवार टुङ्गो लागेपछि मात्रै आचार संहिता लागू भएको नभएकोबारे कडाईका साथ अनुगमन गर्ने उहाँको भनाई छ ।
प्रमुख आयुक्त थपलियाले स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य उम्मेदवार उठाउँदा संविधानको धारा ३८ को ४ अनुसार कम्तिमा एक तिहाई महिला उठाउनुपर्ने बताए । साथै आयोगले भोलि आइतबार र पर्सी सोमबार उम्मेदवारी दर्ताको तयारी पूरा भएको पनि जनाएको छ ।
मतपत्र उम्मेदवारको अन्तिम नामावली आउनुअघि नै प्रकाशन गर्नुपर्ने भएकोले उम्मेदवार नभएको पनि चिन्ह हुने बताए । उम्मेदवारको टुङ्गो लागेपछि चुनाव हुने मिति थोरै हुने भएकोले ६ हजार ७ सय ४३ वडामा त्यति नै प्रकारका मतपत्र बनाउन कठिनाई हुने उनको भनाई छ । तर भक्तपुरका नगरका लागि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छापेर पठाउने तयारी रहेको उनको भनाई छ ।