काठमाडौ – पाँच दलीय गठबन्धनबीच स्थानीय तहको सीट बाँडफाँडप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि स्थानीय तहका गठबन्धनले उत्साहित नभएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि त्यही अनुसार जिल्ला तहको सीट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको सीट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप लगाउनुभयो ।