काठमाण्डौ – सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।
सरकारबाट आदेश जारी हुँदाका समयमा ती देशमा ट्रान्जिटमा रहेका यात्रु नेपाल आगमनपछि आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल करेण्टीनमा बस्नुपर्नेछ ।
करेण्टीन अवधिमा लक्षण देखिएमा तत्कालै र अन्य अवस्थामा सातौँ दिनमा आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएको आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइनेछ ।
यस्तै, कोभिड–१९ नयाँ भेरियन्ट सङ्क्रमण भएका देशमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान दिइनेछ ।