नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ । यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही हुनुहुन्छ ।

यस्तै डा. वेदुराम भुसाल प्रमुख रहनुभएको सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला हुनुहुन्छ । सदस्यमा अशोक कोइराला र बलदेव चौधरी हुनुहुन्छ । यस्तै शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख हुनुहुन्छ । सदस्यहरूमा कमला तुलाधर, डा. चन्द्र ढकाल, डा. उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य हुनुहुन्छ ।

पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख हुनुहुन्छ । सूर्यबहादुर थापा, आयाम पाण्डे, डा. राजु थापा र विष्णु तिमिल्सिना सदस्य हुनुहुन्छ । गोविन्द कोइराला प्रमुख रहनुभएको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं हुनुहुन्छ । सदस्यहरूमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान हुनुहुन्छ ।

हिजो बुधवार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज बिहीवार जानकारी दिँदै नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा. तुलाधर र डा. विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ । यही कात्तिक २७ र २८ गते काठमाण्डौमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । पार्टीले आकर्षक नारा लेखिएका लाखौँ स्टिकर छापी नागरिकमा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु¥याएको क्षतिको मर्मत कार्य छिटोभन्दा छिटो सम्पन्न गरी काठमाण्डौ उपत्यकामा खानेपानीको आपूर्ति गर्न पनि सरकारलाई बैठकले आग्रह गरेको छ ।

उज्यालो अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्