काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बसेको थियो ।
आफूहरू प्रतिपक्षमा बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘हामी प्रतिपक्षमा बस्छौं । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदैनौं,’ नेता ज्ञवालीले भने ।
उनले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए । आजको स्थायी कमिटी बैठक प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावका सन्दर्भमा केन्द्रित थियो ।
नेता ज्ञवालीका अनुसार आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता भएको थियो । उक्त भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएको ज्ञवाली बताउँछन् । तर भंग भएको कार्यदलका सदस्यहरूले भने संस्थागत निर्णय गरेर जानुपर्ने बताएका थिए ।