नेकपाका दुवै समुह आज निर्वाचन आयोगमा उपस्थित हुने

काठमाण्डौ – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ । चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई आयोगले बोलाएको हो । तर छलफलमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् ।

आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको ओली समूहले जनाएको छ ।

ओली समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरुसहित ७ जना छलफलमा सहभागी हुने तयारी छ ।

यस्तै आयोगको आग्रहअनुसार आफ्नो समूहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरु सहभागी हुने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनावको मिति तय गर्दै प्रतिनिधिसभा विघटन भएपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले नेकपाको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्