रसायनशास्त्र विद्यार्थी संगठन नेपालको साप्ताहिक अनलाईन अन्तरक्रियाको १२औं शृङ्खला सम्पन्न

रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १२औं शृङ्खला सम्पन्न भएको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब १०० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा त्रि-चन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक एवं नेपाल केमिकल सोसाइटीका प्रधान सम्पादक डा. नेत्रलाल भण्डारीले ‘कसरी प्रभावकारी वैज्ञानिक अनुसन्धान प्रस्ताव तयार गर्ने ?’ विषयमा बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विषयवस्तु सम्बन्धित उठेका आधा दर्जन बढी प्रश्नहरुको जवाफ डा. भण्डारीले दिएका थिए ।

कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक तथा सिसानका प्रमुख सल्लाहकार प्रा.डा. रामेश्वर अधिकारी तथा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा.डा. एम.एल. शर्माले शुभकामना मन्तव्य व्यक्त गर्दै निरन्तरताको कामना गरेका थिए । कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, आकाश घिमिरे, विकास निरौला र सौरभ कटुवाल प्राविधिक रहेका थिए ।

कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक विक्रम अधिकारीले ’कोरोना अपडेट’ गराएका थिए भने संस्थाका सदस्य मिना भाटले वक्ताको छोटो परिचय प्रस्तुत गरेकी थिइन् भने सदस्य प्रतिमा खड्काले रिपोर्ट प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता अनुसन्धान संयोजन समितिका सदस्य पूर्णिमा शर्माको संचालनमा सम्पन्न भएको थियो । कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो ।

संस्थाले हालसालै सौरभ कटुवालको नेतृत्वमा ८ जना सदस्य सहितको अनुसन्धान संयोजन समितिलाई पूर्णता दिई अनुसन्धानको काम अगाडी बढाइरहेको अध्यक्ष रोका मगरको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्