चितवन – चितवनको माडी अयोध्यापुरीमा पुरातत्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले अनुसन्धान गर्न चासो देखाएको हो । पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले बताएका छन् ।
माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले अयोध्यापुरी क्षेत्रको अनुसन्धान गर्न पुरातत्व विभागको टोलीले शुक्रबारबाट काम थाल्ने जानकारी दिए । टोली बिहीबार चितवन आइपुगेको र शुक्रबारबाट सम्भावित क्षेत्रको अनुसन्धानमा लाग्ने जानकारी पाएको बताए ।
नगरपालिकाको वडा नं. १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान, लवकुश खेल्ने स्थान, त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिका प्रमुख ढकालले बताए ।
अयोध्यापुरीमा पुराना इटाका टुक्रा, ढुङ्गा, माटो लगायतले केही वस्तु भएको देखाउने यहाँका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए । विषय चर्चामा आएकाले वास्तविक अवस्था के हो भन्नका लागि अनुसन्धान आवश्यक छ उनले भने ।