संखुवासभामा मध्यरातमा पहिराे, ११ जना बेपत्ता, ९ घर बगायाे

काठमाडौँ- लगातारको झरीसँगै पहिरो खस्दा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले जीवितै उद्धार गरेका छन् । भिरालो पाखामा रहेको बेसिन्दा गाउँमा ८६ परिवारको बसोबास थियो ।

पहिरोमा खसेर घरमै पुरिएको अवस्थामा उद्धार गरिएका राई गम्भीर घाइते छन् । स्थानीय हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते गोवासिंहसँगै, भीमसरी राई, फूलमाया र भीमबहादुर राईलाई जीवितै उद्धार गरिएको हो । पहिरोमा परेकालाई गाउँलेले उद्धार थाल्दा सुरक्षाकर्मीको टोली पुगिसकेको थिएन । घटनापछि ३ सय ४९ जना गाउँलेलाई उद्धार गरेर डेढ घण्टा टाढाको चित्रेमा स्थानीय विद्यालय र स्थानीयका ४र५ वटा घरमा राखिएको छ ।
७० वर्षीय जुद्धबहादुर राईकी श्रीमती ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति पहिरोमा बेपत्ता छन् । करिब सय मिटर माथिबाट घरमै खसेको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् । प्रहरीका अनुसार पहिरोमा परेर ६० वर्षीय राममान राई, उनकी ५५ वर्षीया पत्नी हस्तकुमारी, छोरीहरू २१ वर्षीया एन्जिला र ११ वर्षीया नम्रता राई हराइरहेका छन् । एन्जिला गर्भवती थिइन् । ५२ वर्षीय जुद्धबहादुर माने (राई) र श्रीमती ४५ वर्षीया उत्तरकुमारी, ७० वर्षीया नजमाया, ८४ वर्षीय हर्कराज र ८२ वर्षीया आइतमाया राई पनि बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरो सिसुवा खोलामा पुगेको छ ।
उद्धारका लागि गएका मदन राईको मृत्यु भएको छ । दमका बिरामी रहेका उनको हृदयाघातले मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नजमाया, सन्दीप, भीमबहादुर, शिवधन, गोवासिंह र हर्कधन राईको घर बगाएको छ । उद्दार कार्य जारी रहको छ भने वर्षा नथामिँदा खोजी, उद्धार र आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्