काठमाडौँ – बढुवा समितिको सचिवालयले निजामती सेवाका विभिन्न सेवा तथा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवाका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले मङ्सिर १२ गते सूचना जारी गर्दै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा योग्यताक्रमअनुसार उम्मेदवारको नाम सिफारिस गरेको हो।
बढुवा समितिको मङ्सिर ११ गतेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा २४च. बमोजिम सिफारिस सूची सार्वजनिक गरिएको सूचनामा उल्लेख छ।
सिफारिस हुनेमध्ये नेपाल प्रशासन सेवातर्फ ५ जना छन्। त्यस्तै, नेपाल इन्जिनियरिङ सेवाको सिभिल समूहअन्तर्गत जनरल उपसमूहबाट १ जना र हाइवे उपसमूहबाट ३ जना रहेका छन्।






