काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी राष्ट्रिय भेला आज समापन हुँदैछ। माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा बुधबारदेखि सुरु भएको भेलाको अन्तिम दिन आज पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम छ। त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका रहेको छ।
नेता सूर्य थापाका अनुसार राष्ट्रिय भेलाको समापनपछि आजै अपराह्न ३ बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ।
बैठकमा राष्ट्रिय भेलाका क्रममा प्राप्त सुझाव तथा पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाका विषयमा छलफल हुने जनाइएको छ।




