एनपीएल फाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो आज, चितवन र सुदूरपश्चिम भिड्दै

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो आज लाग्दैछ। दोस्रो क्वालिफायरमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट रंगशालामा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ। आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि पर्सि शनिबार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स यसअघि नै फाइनलमा पुगिसकेको छ। त्यसैले आज सुदूरपश्चिमसँग पहिलो क्वालिफायरको हारको बदला लिँदै लगातार तेस्रोपटक फाइनल पुग्ने अवसर छ।

चितवन राइनोज भने पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ। चितवनले हिजो भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सकेको थियो। यससँगै काठमाडौं गोर्खाजको उपाधि यात्रा समाप्त भएको छ।

आज चितवन विजयी भए पहिलोपटक फाइनल पुग्दै इतिहास रच्नेछ। सुदूरपश्चिमले जिते लगातार तेस्रोपटक फाइनलमा स्थान बनाउनेछ। यसअघि पहिलो र दोस्रो संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम दुवैपटक उपाधि जित्न भने असफल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्