कप्तान परिवर्तन गर्दा पनि कर्णालीको हार रोकिएन, लुम्बिनी ४ विकेटले विजयी

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कप्तान परिवर्तन गरे पनि कर्णाली याक्सको हारको शृङ्खला रोकिएको छैन । बिहीबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले कर्णालीलाई ४ विकेटले पराजित गरेको छ ।

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलरलाई कप्तान बनाएको कर्णालीले लगातार चौथो हार बेहोरेको हो । प्रतियोगिताको सुरुआती दुई खेल जित्दै राम्रो लयमा देखिएको कर्णाली त्यसपछिका चार खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो । कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, दिलीप नाथले २८ तथा हुसैन तलातले २४ रनको योगदान दिए । निरोशन डिकवेलाले १६ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अभिषेक गौतम, रोहित पौडेल र डार्सी शर्टले समान दुई विकेट लिए । रुबेन ट्रम्पलमनले एक विकेट हात पारे ।

१११ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिए । पवन सर्राफ र हुसैन तलातले समान एक विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस जितसँगै लुम्बिनी लायन्स ६ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साथै लुम्बिनीले प्लेअफमा आफ्नो स्थानसमेत सुरक्षित गरेको छ । काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

लगातार चौथो हारसँगै कर्णाली याक्सको प्लेअफ यात्रा थप कठिन बनेको छ । कप्तानसँगै ओपनिङ ब्याटिङमा समेत परिवर्तन गरेको कर्णालीले नयाँ रणनीति अपनाए पनि त्यसले अपेक्षित नतिजा दिन सकेन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्